• Recent

    मड्रिडको पोस्टमा बार्सिलोनाले हान्यो ५ गोल, स्वारेजले हाने ह्याट्रिक


    काठमाडौं, कात्तिक ११
     लुइस स्वारेजले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको पहिलो इएल क्लासिकोमा साबिक विजेता बार्सिलोनाले जित हात पारेको छ । लिगको १०औं हप्ताअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोनाले आफ्नो चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–१ को नमिठो हार चखायो ।
      ११ वर्षपछि पहिलोपटक बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी र रियल मड्रिडका पूर्वसुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनै भएको इएल क्लासिकोमा बार्सिलोना खेल अवधिभर हाबी भयो । पहिलो हाफमा केही दबाबमा परेको रियलले दोस्रो हाफमा सुधारिएको खेल खेले पनि घरेलु टोलीसामु उसको केही चलेन ।
    बार्सिलोनाका लागि खेलको ११औं मिनेटमा फिलिपे कोउटिन्होले पहिलो गोल गरेका थिए । उनले ‘अनमार्क’ रहेको अवस्थामा जोर्डी अल्बाले दिएको क्रस पासमा सहजै गोल गरेका थिए ।
    त्यसपछि खेलको २९औं मिनेटमा रियलका डिफेन्डर राफेल भारानेले बार्सिलोनाका लुइस स्वारेजलाई डि–बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । सुरुमा रेफ्रीले त्यसलाई फउल दिन अस्वीकार गरे पनि बार्सिलोनाका खेलाडीले जोडदार भिआरको माग गरेपछि रेफ्रीले भिआर (भिडियो रेफ्री) को मदतमा बार्सिलोनालाई पेनाल्टी अवसर दिएका थिए ।
    जसमा स्वारेजले कुनै गल्ती नगरी बललाई जाली चुमाए । र, घरेलु टोलीलाई पहिलो हाफमा २–० को सहज अग्रता दिलाए ।
      पहिलो हाफमा दबाबमा परेर २–० ले पछि परेको रियलले सुरुबाटै खेलमा सुधारको संकेत दियो । त्यसक्रममा दोस्रो हाफ सुरु भएको ५ मिनेटमै रियलले पहिलो गोल हान्यो । सो गोल मार्सेलोले निकै आकर्षक तरिकाले गरेका थिए । उनले रियलका लागि पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन् ।
    बार्सिलोनाको घरमा २–१ को अवस्थामा रहँदा बराबरी गोलका लागि संघर्ष गरिरहेको रियलले खेलको ७५औं मिनेटमा तेस्रो गोल खायो । सो गोल स्वारेजले सर्जी रोवेर्टोको हाई पासमा आकर्षक तरिकाले टाउकोले गरेका थिए ।
    त्यसपछि खेलको ८३औं मिनेटमा स्वारेजले व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अगाडि रह्यो । लगत्तै सब्सिच्युट खेलाडी अर्टुरो भिडालले ८७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ५–१ को शानदार जित निकाल्यो ।
    यो जितपछि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसले १० खेलबाट २१ अंक जोडेको छ । पराजित रियल भने समान १० खेलबाट मात्रै १४ अंक लिएर नवौं स्थानमा खुम्चिएको छ ।
    सिजनका १० खेल सकिँदा बार्सिलोनाले रियलसँग ७ अंकको स्पष्ट अग्रता बनाएको छ । यो बार्सिलोनाका लागि उपाधि होडमा अगाडि रहन निकै सहज सुविधा हो