• Recent

    निर्मला हत्या प्रकरण : आरोप स्वीकारेको प्रदीप रावल पनि छुटे

      पुस ११  काठमाडौं 
    कन्चनपुरकी बालिका निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल पनि  थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । 
    प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । सो बिषयमा   अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
    उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।

     निर्मलाको ‘भजाइनल स्वाव’सँग दुवै जनाको डीएनए मेल नखाएको प्रहरीले  अनाैपचारिक रूपमा बताएको थियो । शंकास्पद भनिएका दुवै जना छुटिसक्दा पनि प्रहरीले उनीहरुको डीएनए रिपोर्ट भने औपचारिक रुपमा अझै सार्वजनिक गरेको छैन । बरु उल्टै , ‘सबै कुरा डीएनए मात्र होइन  भन्न थालेका छन् 

    मुख्य आरोपितका रुपमा नाम चुहाइएका दुई जना साधारण तारेखमा छुट्दा फेरि एक पटक प्रहरी चुकेको छ । यसअघि पहिलोपटक बलियो सबुतविनै दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दा प्रहरीमाथिको जनविश्वास गुमेको थियो ।

     यसअघि रावल र चौधरीलाई पक्राउ परेकै आधारमा रक्षामन्त्री ईश्वर पोखरेलले पनि ‘निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं’ भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए ।