• जेलबाट मेयर रिहा खुशियाली मनाउन सार्वजनिक बिदा, हेलिकप्टर भाडामा लिएर गृहनगर

    पुस १४, २०७५ शनिबार 
     रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहालाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहितको जन्मकैदको सजायमा सर्वोच्च अदालतले शुक्रबार सफाइ दिएको छ  । 
    न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उहाँलाई  अदालतले  सफाइ दिएको हो । 

     सर्वोच्च अदालतबाट सफाइ पाएका मेयर कुशवाहा शनिबार काठमाडौं बाट हेलिकप्टर चार्टर गरेरै कटहरिया पुगेका छन । कटहरियाको जनता उच्च मा वि को प्रांगणमा  हेलिकप्टर उतारिएको थियो । उहाँलाई स्वागत गर्न सयौँको भिड थियो । 

    रिहा भएको खुशियालीमा सार्वजनिक बिदा त्यस्तै कटहरिया नगरपालिकाले शनिबार एउटा सूचना प्रकाशित गर्दै मेयरले सफाइ पाएको खुशियालीमा आइतबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको समेत जनाएको छ । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाद्वारा जारी सूचनामा भनिएको छ, ‘कटहरिया नगरपालिकाका सच्चा अभिभावक नगर प्रमुख सियाराम प्रसाद कुशवाहाज्यू सम्मानित सर्वोच्च अदालतको मिति २०७५–०९–१३ गतेको फैसलाबाट सफाइ पाई निर्दोष सावित हुनुभएको खुशियालीमा २०७५–०९–१३ गते आइतबार एक दिन नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरु र नगरपालिकाभित्र पर्ने सम्पूर्ण विद्यालयहरुमा बिदा दिने व्यहोरा यस कार्यालयको २०७५–०९–१४ को प्रमुख स्तरीय निर्णय भएको छ ।

    कुशवाहालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले तिवारीको हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो । कुशवाहालाई वीरगञ्ज कारागारमा राखिएको थियो । 

    तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या भएको थियो । कुशवाहा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित  मेयर हुन ।