• विष्णु माझीको जुम्ल्याहा छोरा भएको खुलासा : स्याङ्जा प्रशासनको खोजीमा चासो

    २० पुस, 
    झ०डै एक दशक भन्दा अगाडी देखी अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी  गायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनले चासो देखाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको अबस्था पत्ता लगाउने प्रयास गरिरहेको बताए । 


    उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं,’ जिल्ला अधिकारी कोशहरि निरौलाले  भने । आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले विष्णुको स्थिति पत्ता लगाउनु आफ्नो दायित्व भएको निरौलाले बताए ।

    कतिपयले यो उनीहरुको निजी मामला भएकाले दख्खल किन दिने भनेर पनि प्रश्न उठाएका छन् नि ? भन्ने श्नमा निरौलाले भने, ‘हामीले उनीहरुको निजी जिन्दगीमा दख्खल दिन खोजेका होइनौं । तर, अहिलेको जमानामा यसरी कसैले लुकेर काम गर्नुपर्ने अवस्था छैन ।

     के कारणले उहाँ सार्वजनिक हुन सक्नुभएको छैन भन्ने हाम्रो चासोको विषय हो ।’  निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताए । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाको भनाइ छ । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान सुरु गरेको बुझिएको छ ।

     सुन्दरमणिको पोखरास्थित गाउँका एक छिमेकीले विष्णु र सुन्दरमणिका जुम्ल्याहा छोरा भएको जानकारी दिएका छन् । ‘उहाँहरु हरेक वर्ष दशैं मान्न  आउनुहुन्छ,’ उनले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।’ ०७२ सालमा भूकम्प आएको ताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी थिइन। 

    सुत्केरी भएपछि विष्णु र उनका श्रीमान एक महिना गाउँमै बसेका थिए । सुन्दरमणिका छिमेकीले गाउँ र छरछिमेकमा सुन्दरमणिको राम्रै छवि भएको बताएका छन् । ‘बाहिर उहाँको बारेमा चलेका हल्लाहरु हामीलाई पनि थाहा छ । तर, हामीले जहाँसम्म चिनेका छौं, उहाँ असल व्यक्ति हुनुहुन्छ । गाउँवासीहरुसँग उहाँको राम्रो सम्वन्ध छ ।

     गाउँमा आउँदा सुन्दरमणि छोराहरु लिएर छर छिमेकमा निस्किने भए पनि विष्णु भने घरबाट खासै ननिस्किने उनी बताउँछन् । ‘खोइ के कारणले हो, विष्णुजी गाउँमा आउँदा पनि घरबाहिर खासै निस्किनु हुन्न । उहाँकै स्वभाव हो कि अरु केही वाध्यता भन्ने चाहिँ रहस्यकै विषय छ,’ उनले भने । उनले सञ्चारमाध्यममा प्रश्न उठिसकेपछि विष्णु र सुन्दरमणिले जवाफ दिनुपर्ने बताए । 

    अन्यथा सुन्दरमणिप्रति शंका झन् प्रबल बन्ने उनको भनाइ छ । अन्तरजातीय बिहे भए पनि सुन्दरमणिको परिवारमा त्यसले कुनै समस्या ननिम्त्याएको छिमेकीले बताएका छन् । सुन्दरमणिको परिवार जातपातको विषयमा रुढिवादी नभएको समेत उनको भनाइ छ । ‘उहाँहरुले पोखरा लेकसाइडको एक मन्दिरमा सानो जमघटमा बिहे गर्नुभयो । तर, गाउँमा भने सुन्दरमणिको परिवारले बकाइदा खसी काटेर भोज खुवाएका थिए ।

     बिहेपछि पनि सुन्दरमणिको परिवारले विष्णुलाई अवहेलना गरेको कुनै संकेत पाएका छैनौं,’ उनले भने । कास्कीको साविक लेखनाथ नगरपालिकास्थित गाउँमा पुख्र्यौली घर छ । बाबुको मृत्यु भएपछि गाउँमा रहेको काठको घरमा अहिले सुन्दरमणिकी आमा मात्रै बस्छिन् । सुन्दरमणिका दुई जुम्ल्याहा भाइमध्ये एक भाई वैदेशिक रोजगारीमा छन् । पारम्परिकरुपमा किसानी गर्ने उनीहरु मध्यम वर्गका परिवार हुन् । 

    यद्यपि, संगीतमा लागेर सुन्दरमणि र विष्णुले राम्रै आर्जन गरेको अनुमान गरिएको छ । विष्णुलाई व्यवसायिक गायनमा सुन्दरमणिले नै ल्याएका हुन् । विष्णुसँग भेट भएपछि सुन्दरमणिलाई निकै फलीफाप भएको छिमेकी बताउँछन् । त्यसअघिसम्म उनको करिअरले गति लिन सकेको थिएन । संगीतमा लाग्दा उनले आफ्नो पुख्र्यौली खेतसमेत बेच्नुपरेको थियो ।

     विष्णु स्टुडियोमा गीत रेकर्ड गराउने बाहेक अन्य सांगीतिक गतिविधिमा देखिन्नन् । स्टुडियोमा गाउन जाँदा सुन्दरमणिले नै लैजान्छन् र लिएर पनि आउँछन् । घरबाट बाहिर निस्किँदा विष्णु पछ्यौराले मुख छोपेर हिँड्ने गर्छिन् । साथै स्टुडियोमा गीत गाउँदा पनि झ्यालका पर्दा लगाउँछिन् । करिब १३ वर्षदेखि संगीतमा सक्रिय विष्णु अहिलेसम्म सार्वजनिक कार्यक्रम र मिडियामा देखिएकी छैनन् । उनको वर्षौंदेखि एउटा मात्रै फोटो चल्तीमा छ । विष्णुले मोबाइल समेत नबोक्ने उनलाई चिन्नेहरु बताउँछन् । 

    काठमाडौंमा उनीहरु विष्णु कहाँ बस्छन् भन्ने पत्ता लाग्न सकेको छैन । यद्यपि, उनीहरु सोह्रखुट्टे आशपास बढि देखिने गर्छन् । सुन्दरमणिको गीत रेकर्डिङ स्टुडियो सपना म्युजिक इन्डष्ट्रिज भने अनामनगरमा रहेको छ । विष्णु लोक दोहारी गायनमा  नम्बर एक मानिन्छिन् । उनको पछिल्लो गीत ‘सालको पात टपरी हुने एबरै…’  अत्यधिक चर्चामा रहेको छ 
    यो पनि हेर्नुस :