• सुरक्षा माग्न बम दिदीबहिनी काठमाडौमा (भिडियो सहित)

     माघ ५ 

     निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले धम्क्याएको उनीहरुको भनाइ छ । 

    बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो । स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् । 

    दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बनेका थिए । प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेन । तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् । 

     बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं आएको बताए । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ । ‘हाम्रो चरिहत्या गर्ने र बारम्बार धम्की दिने काम आफूलाई महिला अधिकारकर्मी भन्ने राजनीतिक दलका दुई नेतृ र एक स्थानीय पत्रकारले गरेका हुन् । 

    काठमाडौंबाट आउने मानवअधिकारवादी र महिला अधिकारकर्मीले पनि उनीहरुले जे भन्छन्, त्यहि सही मानेर लेखे । हाम्रो टोल छिमेकमा आएर हाम्रोबारे बुझ्न चाहेनन् वा बुझेर पनि लेख्न चाहेनन्,’ बम दिदी बहिनीले भनेका छन्, ‘यिनीहरुले हामीलाई जिउँदै मारेका छन् ।’ निर्मलाको हत्याकाण्डमा संगीन आरोप खेप्नुपरेपछि बम दिदीबहिनी विक्षिप्त अवस्थामा छन् । 

     सुदूरपश्चिमको गाउँले लबजमा १४ वर्षीया रोशनीले बोलिरहँदा उनीभित्रको उकुसमुुकुस अनुभव गर्न सकिन्थ्यो । साउन १० गते निर्मलाको शब भेटिएको दिनदेखि आफू खुलेर हाँस्न नसकेको उनी बताउँछिन् । ‘हाम्रा त चरित्रहत्या भया छ । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । तर, हामीलाई त मिडिया र युट्युबरले अपराधी बनाइदिया, मानवअधिकारवादीले बेश्या बनाइदिया ।

     निर्मला त मरिगइन्, हामी जिउँदो निर्मला भया छौं,’ रोशनीले एकै सासमा यति कुरा भनिन् । साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । यो उनीहरुको पहिलो काठमाडौं यात्रा हो । 

    उनीहरुले मिना भण्डारी र शारदा चन्दको नामै लिएर भने, ‘कन्चनपुरका केही मानवअधिकारकर्मी तथा नेतृहरुको निरन्तर धाकधम्कीका कारण असुरक्षित भयौं । त्यसैले काठमाडौं आउनुपरेको हो ।’ उनीहरु भन्छन्, ‘हिजो डिल्लीराज विष्टले हामीलाई जोगाएको भने पनि आज प्रहरीका सात टोलीले अनुसन्धान गरिसकेका छन् । 

    यदि हामी दोषी भए राज्यले कारवाही गरोस् । होइन भने महिला अधिकारवादीले काठमाडौं आउँदासमेत धम्की दिइरहेका छन् । यहाँ पनि हामीलाई शंकास्पद व्यक्तिले पिछा छाडेका छैनन् ।’
    हेर्नुस भिडियो :