• भ्रष्टाचार प्रकरणमा चिनियाँ सेनाका पूर्व प्रमुखलाई आजीवन कारावास सजाय

    २०७५ फागुन ८,  बुधबार  एजेन्सी

    चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रमुख फाङ फेङ्घुईलाई भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको भन्दै आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 
    चिनियाँ सेनाका पूर्व प्रमुखलाई  भ्रष्टाचा प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ । 


     ६७ वर्षीय पूर्व सेना प्रमुख फाङ चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१७ मा भएको पहिलो भेटमा पनि उपस्थित थिए । चिनियाँ राष्ट्रपति जिनपिङको भ्रष्टाचारविरुद्धको कडा अभियानअन्तर्गत नै चीनमा उच्च पदस्थ अधिकारीहरु जेल परिरहेका छन् । राष्ट्रपतिको अभियान विशेषगरी विश्वकै ठूलो र आधुनिक मानिने चिनियाँ सेनामा शुद्धिकरण ल्याउने प्रयास मानिएको छ ।
     चिनियाँ सेनाका पूर्व प्रमुख फाङ सन् २०१७ देखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनले सन् २०१७ मै चित्तबुझ्दो स्पष्टीकरण नदिएका कारण पदबाट हात धुनु परेको थियो । उनी शक्तिशाली मानिने सेन्ट्रल मिलिटरी कमिसनका सदस्य पनि थिए । उनलाई गएको वर्ष मात्रै सैनिक अदालतमा ट्रायल सुरु हुनुभन्दा पहिला कम्युनिष्ट पार्टीबाट पनि निष्काशित गरिएको थियो । सिन्ह्वाका अनुसार उनको सबै सम्पत्ति जफत गरिएको छ ।

     तर सम्पत्ति कति हो भन्नेबारे भने केही पनि खुलाइएको छैन । सन् २०१२ मा सि जिनपिङ सत्तामा आएपछि झण्डै १० लाख सैनिक अधिकारीलाई कारबाही गरिएको चिनियाँ सरकारले बताएको छ । कारबाही भोग्नेहरुका सेन्ट्रल मिलिटरी कमिसनका पूर्व उपाध्यक्ष सु काइहो र गुओ बोक्सिओङसमेत रहेका थिए ।
     ट्रायल सुरु हुनुभन्दा पहिले क्यान्सरका कारण सुको मृत्यु भएको थियो भने सन् २०१६ मा गुओलाई आजीवान कारावासको सजाय सुनाइएको थियो ।