• मेलम्ची खानेपानी आयोजनाको काम पुनः शुरु

    असार ११ काठमाडौं
    स्थानीयको अवरोध पछि रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम पुनः शुरु भएको छ । आयोजनाको ठेक्का पाएर काम गर्न पुगेका निर्माण व्यवसायीसंग दुई बुँदे सहमति भएपछि स्थानीयले काम सञ्चालन गर्न दिने भएका हुन। 
    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको पहलमा हिजो मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा आयोजनाको कामलाई निरन्तरदिने विषयमा सहमति जुटेको थियो । यसअघी आयोजनमा काम गर्न गएका ठेकेदारलाई स्थानीयले फर्काइदिएका थिए । 

    इटालीको निर्माण कम्पनी सिएमसी आयोजना छोडेर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को निर्माण कम्पनी छनौट गरेर काममा पठाएको थियो । तर सिएमसीले रकम भुक्तानी गर्न बाँकी स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरले भुक्तानी नपाएसम्म योजनाको काम गर्न नदिने भन्दै अवरोध गर्दै आएका थिए ।

     अब  असार २१ गते भित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भुक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजनास्थलमा स्थानीयवासीले अवरोध नगर्ने सहमति भएको छ । 

     प्रतिवेदन तयार गर्न सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल पनि बनाइएको छ । प्रतिवेदनको सुझावका आधारमा भुक्तानी दिने र लिनेमा सहमति  भएको छ ।