• कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

    काठमाडौं  असार ९  
     विप्लव समूहलाई समाप्त पार्न  कसैलाई निर्देशन नदिएको भन्दै , गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन  । 
    पौडेल असार ५ गते लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।
    गृहमन्त्री रामबहादुर थापा (बादल)ले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन ।

    संसदको राज्यव्यवस्था समितिको  बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको बताएका छन । मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी ट फायर गरेकोले प्रहरी टोलीले जवाफी फायर गर्दा
     एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज  कुमार पौडेल भएको खुल्न आएको छ । मन्त्री थापाका अनुसार अन्य तीन जनाजंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ । फरारहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।
    विप्लव समूहले  स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।  व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाले बताए ।
     घटनास्थलबाट मेड इन USA   लेखिएको रिभल्बर, कटुवा पेस्तोल  र तीनमा लाग्ने गोली ६ थान बरामद भएको थापाले  जानकारी  गराए । साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्रीको भनाइ छ ।
     पौडेल मुठभेडमा मारिएको बताए पनि सत्तारुढ दलकै सांसदहरुले शंका गर्दै आएका छन । नेकपाका सांसद जनार्दन शर्माले मृतक पौडेलको हात भाँचिएर छियाछिया भएको आफूले सुनेको भन्दै सत्य तथ्य जानकारी गृहमन्त्रीबाट लिनुपर्ने बताएका थिए । मानव अधिकार आयोगले पनि पौडेलबारे छानविन गरिरहेको  छ ।
    Watch Free Movie