• सप्तरीमा २० घर बगे, प्रहरी चौकी नै विस्थापित

     सप्तरी  २८ असार
    केही दिन देखी परेको अबिरल वर्षाका कारण सप्तरी जिल्लाका  बिभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ  बाढीका कारण अधिकांस ठाउँ डुबानमा परेका छन् । 

    प्रहरी निरीक्षक रिता पौडेलले हालसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिइन् ।जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ । 
    खड्ग खोलाको बाढीले बिसनपुर-स्वर्णपट्टी सडकमा क्षति पुर्‍याएको छ ।यो सडक केही दिनअघि मात्रै निर्माण गरिएको थियो । खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ ।
    खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी-कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय  घर डुबानमा परेको छ ।  सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।
    वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।
    सदरमुकाम राजविराज नगरपालिकाका पानीको निकास नहुँदा  घरमा समेत पानी पसेको छ । मुख्य सडकहरु पानीले भरिएका छन् । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् ।