• विप्लवलाई सरकारको कडा चेतावनी : वार्तामा नआए ठुलो क्षति व्यहोर्नुपर्छ

    काठमाडौं असार १९ 
     सञ्चारमन्त्री तथा  सरकारका प्रवक्ता गोकुल बास्कोटाले तत्काल  वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन ।
    विप्लवका क्रियाकलाव नागरिकमा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उहाँले गर्नुभयो । विप्लव आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए ।
    बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव समूहप्रति आक्रामक रुपमा प्रस्तुत भए । 
    उहाँले सरकारले वार्ता आह्वान गर्दागर्दै अस्वीकार गरी हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु जम्माजम्मी उपयोगितावादी हो । अराजकतावादी हो । लुटेरा समूह हो । क्रमशः संगठित आतंकवाद हो । सामाजिक फासिवाद पनि हो । त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन । चुनाव लड्ने हुती छैन । 

    कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरेर मान्छेलाई दिनहुँ तर्साएर के हुन्छ ? त्यसकारण सरकार तर्सदैँन ।’ सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उहाँले विप्लव समूहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गर्नुभयो ।
    कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस् ।’
    दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले अघि भने, ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’
    रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए ।
    उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे । मन्त्री बास्कोटाले अघि भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’