• विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ता मारिए

    भोजपुर, २५ असार । 
    भोजपुरको  सदरमुकाम हटिया लाइनमा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा 2 जनाको मृत्यु भएको छ । विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।
      भिडन्तमा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको गरी दुई जनाको   मृत्यु भएको छ भने  एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन  ।
    बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।
    यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
    खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
    --श्यामकृष्ण दाहालबाट