• दक्षिण कोरियाबाट मृगौला पीडित गमप्रसादलाई २ लाख सहयोग

    २०७६ साउन ९ दुवै मृगौलाले काम गर्न छाेडेपछी उपचारत बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घस घसा का ३६ वर्षीय गमप्रसाद श्रीस मगरलाई दक्षिण कोरियाबाट २ लाख १२ हजार रुपैयाँ सहयाेग प्राप्त भएकाे छ । मृगौला पीडित श्रीसलाई नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीस, सल्लाहकार उर्मिला श्रीस, समाजसेवी रामसिंह पुन र मोहन मगरको रोहवरमा दक्षिण कोरियाबाट प्राप्त २ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीहरूले मृगौला पीडित श्रीसको उपचारकाे लागि सो रकम संकलन गरेका थिए । गमप्रसाद वैदेशिक रोजगारीमा दुबईमा ७ वर्ष काम गरेर बिरामी भएपछि फर्किएका थिए । नेपाल आएर स्वास्थ्य परीक्षण गरेपछि दुवै मृगौला फेल भएको थियाे ।

    सुरुमा काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उपचार सुरु गरेको र पछि वीर अस्पतालमा डाइलासिस सुरु गरेको मृगौलापीडित श्रीसले बताउनुभयो । हाल पोखराको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएका उहाँले मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताउनुभयाे । यस अघि जापानबाट साढे पाँच लाख रुपैयाँ सहयोग आएको मृगौलापीडित श्रीसले बताउनुभयो । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि ३०/४० लाख रुपैयाँ खर्च हुने बताएका छन । सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उहाँले सहयोगी मनहरू सबैसँग सहयाेगकाे अपेक्षा गरेका छन ।