• बिश्वकप छनाेटमा बलियाे प्रतिद्रवन्दी चाइनिज ताइपेई माथी नेपालकाे शानदार जीत

     भदौ २४ काठमाडौं,
    अन्जान बिस्ट चम्किएपछि नेपालले विश्वकप छनौट खेलमा पहिलो जित हात पारेको छ । सन् २०२२ को कतार विश्वकपका लागि जारी दोस्रो चरणको छनौट खेलअन्तर्गत नेपालले आज चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा ०–२ को नमिठाे हार चखाएको हो ।
    यसअघि पहिलो खल हारेर चर्को दबाबबीच अवे मैदानमा उत्रिएको नेपाललाई जिताउन अन्जान नायक बने । प्रशिक्षक योहान कालिनले आजको खेलमा पहिलो रोजाइमा राखेका उनले टिमलाई जिताउन एक्लै २ गोल गरे ।
    नेपालले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । नेपालका लागि अन्जानले फ्रि किकमार्फत् सुन्दर गरेपछि नेपालले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।
    त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन प्रयासरत ताइपेईले लगातार नेपालमाथि दबाब बढायो । तर, नेपालका गोलरक्षक किरणकुमार चेम्जोङले केही उत्कृष्ट बचाउ गर्दा ताईपेई निराश बन्यो ।
    दोस्रो हाफमा रक्षात्मक खेल खेलेको नेपालले खेलको ६३औं मिनेटमा दोस्रो गोल हान्यो । सो गोल अन्जानले नै गरे । रवी पासवानले मैदानको माथिल्लो कुनाबाट दिएको आकर्षक क्रस पासमा अनमार्क रहेका अन्जानले आकर्षक प्रहार गर्दै बललाई जाली चुमाएपछि नेपाल खेलमा ०–२ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल नेपालले ०–२ ले जित्यो ।
    अब यो जितसँगै नेपालले दुई खेलमा एक खेल जितेर खातामा ३ अंक जोडेको छ । नेपाल समूह ‘बी’को तेस्रो स्थानमा समेत उक्लिएको छ । यसअघि नेपाल पहिलो खेलमा कुवेतसँगै उसकै घरमा ७–० ले हारेको थियो । यो जितले नेपालको अघिल्लो हारमा मल्हमसमेत लगाएको छ ।   ताइपेइ फिफा Rank १२५ मा रहेकाे छ भने नेपाल हाल १६६ मा रहेकाे छ ।