• गाइ हत्या अभियोगमा ७ जना पक्राउ

    २०७६ भदाै १६ काठमाडौ
     जिल्ला अदालत सुर्खेतले गाई-गोरु  भीरबाट खसालेर  हत्या गरेकाे  अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ । सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई-गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक/सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले आज  ७ दिनकाे  म्याद दिएको हो । 

     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले नियन्त्रणमा लिएका पाँच ट्रकका चालक-सहचालकसँग घटनाबारे सोधपुछ भइरहेको पनि बताउनुभयो । प्रहरीले हालसम्म ३५ गाई-गोरुको मृत्यु भएको जनाएको छ ।
     त्यस्तै जीवित १९६ गाई-गोरुको उद्वार गरी कान्जी हाउसमा फिर्ता पठाइसकेको र बाँकीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई पनी कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । गाई र गोरु मारेमा तीन वर्ष कैदको कानुनी व्यवस्था छ ।