• मेस्सीले फर्किए मैदानमा गोलकिपरले बचाए बार्सालाई !

    २०७६  असोज १ 
     जारी  सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलमा  पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र स्पेनिस बार्सिलोना बराबरीमा रोकिएका छन । नेपाली समयअनुसार बुधबार बिहान भएको समूह चरणको पहिलो लेगको खेलमा डर्टमुन्ड र बार्सिलोना गोलरहित बराबरीमा रोकिएका हुन् । आफ्ना कप्तान तथा स्टार खेलाडी लिओनल मेस्सीलाई बेन्चमा राखेर डर्टमुन्डको घरमा उत्रिएको बार्सिलोनालाई हारबाट जोगाउन गोलकिपर मार्क आन्द्रे टर स्टेगेन नायक बने । 

    उनले दोस्रो हाफमा एक पेनाल्टी रोक्नुका साथै आधा दर्जन आकर्षक बचाउ गरेर टिमलाई गोल खानबाट जोगाएका थिए । खेलमा तुलनात्मक रूपमा घरेलु टोली डर्टमुन्डले बार्सिलोनामाथि दबाब राखेर खेले पनि उसले गोलका थुप्रै मौका गुमायो । पाको अल्कासेर, जोर्डन सान्चो र मार्को रेउस पटक–पटक चुकेका थिए । यता, बार्सिलोनाले भने खेलमा गतिलो आक्रमण बनाउन सकेन । खेलको ५७औं मिनेटमा डर्टमुन्डले पेनाल्टी पाएको थियो ।

    रेउसले हानेको पेनाल्टी बार्सिलोनाका गोलरक्षकले बचाएपछि घरेलु टोली खेलमा अग्रता लिनबाट चुकेको थियो । कप्तान मेस्सी दोस्रो हाफको ६०औं मिनेटमा युवा खेलाडी अन्सु फातीको स्थानमा मैदान छिरेपछि बार्सिलोनाले केही राम्रा मुभ बनाए पनि गोल हुन नसकेपछि खेल ०–० मा टुंगियो । यो बराबरीपछि समूह ‘एफ’मा डर्टमुन्ड र बार्सिलोना दुवैले १–१ अंक बाँडेका छन् ।