• संखुवासभा जीप दुर्घटना: बर्षाले गर्दा खाेजी कार्य प्रभावित

    २०७६ अशाेज ३  संखुवासभा
     संखुवासभाकाे धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको खाेजी कार्य पानी परेका कारण कठिनाइ भएको छ ।
    शुक्रबार बिहानबाट  ४ जनाको गोताखोर टोलीले खोजी कार्य जारी राखे पनि दिउँसो ३ बजेतिर पानी परेपछि खोजी कार्य प्रभावित भएको हो । अरुण नदीमा गोताखोर टोलीले विभिन्न उपकरणहरुको प्रयोग गर्दै खोजी गरिरहेका थिए । वर्षाका कारण त्यस क्षेत्रमा पानीको बहाव बढेपछ टोली फर्किएको छ । काठमाण्डाैबाट आएको तालिमप्राप्त गोताखोर टोलीले दुई दिनसम्म खोजी गर्दा पनि अरुण नदीमा खसेकाे जीप र त्यसमा रहेका यात्रुहरुबारे पत्ता लाग्न सकेको छैन । गाेताखाे टाेलीले सडकबाट जीप खसेको देखिएको स्थानको वरपर चारैतिर पानी भित्रसम्म डुबेर खोजी गरेका हुन् ।
     अरुण नदिको अक्करको भिरमा जीप खसेको ठाउँमा पानीको गहिराइ ४० फिट रहेको खोजी कार्यमा संलग्न हवल्दार बलराम अधिकारीले बताउनुभयो । बगेको पानी र अरुण नदीको छाल ठूलो भएकाले गहिराइसम्म पुगेर खोजी गर्न गोताखोर टोलीलाई समस्या भइरहेको छ । बाढीका कारण पानी लेदोसहितकाे धमिलो छ । पानीभित्र पस्दा आँखाले झण्डै एक मिटरको हाराहारी मात्रै देखिन्छ । तर हामीलाई विश्वास छ हामी पत्ता लगाउँछौँ ’, अधिकारीले भन्नुभयो । 
     वर्षातका कारण अरुण नदीमा पानीको सतह बढेको र र धमिलो भएको हुँदा जीपको खोजी गर्न समस्या भएको बताउँदै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले शनिबार पनि खोजी कार्यलाई बिहानैदेखि जारी राख्ने बताउनुभयो ।  
    गलबन्दी गायक प्रकास सपुतले यसरी मच्चाए काेरियामा तहल्का ः