• राजु मगरकाे जण्डिस उपचार गर्न 'झाँक्री' पेट चिरेर रगत चुसे....अवस्था गम्भीर

    २०७६ भदाै २५  धादिङ 
     कमलपित्त  उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक जना झाँक्रीले प्वाल पारिदिएका छन।  पेटमा ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसले बिरामी परेका मगर झन समस्यामा पर्नु भएको छ ।

     धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए । जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाण्डौ वीर अस्पताल पठाइएको छ । गएको भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका मगरले बताउनुभयो । २ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुग्नु भएको थियो । 

    उपचारका क्रममा झाँक्रीले विकार तानेर यसरी  धेरैलाई निको पारेको बताएका थिए ।जण्डिस तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ लिएर झाँक्रीले ब्लेडले पेट चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिनुभयो । सुई लगाएर पेट चिरेका लामाले बिरामीकी श्रीमती र सँगै गएकी बहिनीलाई बाहिर निकालेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले चुसेर एउटा बाटामा थुकेको मगरले बताउनुभयो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मगरको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको विमलाको भनाइ छ । लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । यसअघि पनि उनी पटक–पटक विवादमा आएका थिए । 

    ३ वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी गर्न गएर पनि उजुरी नगरी फर्केको मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो । लामो समयदेखि यस किसिमको उपचार गरेर धेरै मानिसको पेट चिरेर बिरामी निको पारेको बताउने झाँक्री विगतमा राजनीतिक संरक्षणमा कारबाहीबाट उन्मुक्ति पाउँदै आएका छन् । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धानमा खटिनुभएका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकोले आवश्यक कारबाही गरिने बताउनुभयो ।