• मलेसिया रोजगारी नियमित । के छ सुबिधा ?

    २०७६ भदाै ३० काठमाडौं  
    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ । मन्त्रालयले एक वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी सञ्चालन गरिएको जनाएको छ । 

    समझदारीपछि बाँकी रहेका प्राविधिक विषय टुङ्गो लगाउन यही भदौ २४ र २५ गते मलेसियामा दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठक बसेको थियो । सोही बैठकले नै समझदारी भएको लामो समयसम्म नियमित हुन नसकेको मलेसिया रोजगारीको सम्बन्धमा ‘ब्रेकथ्रु’ गरेको थियो । सहमतिअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्कलगायत खर्चबापत कामदारले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । 

    कामदार भर्नाका सम्बन्धमा लाग्ने सम्पूर्ण लागत सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलबभत्ता एवं सुविधा पाउने सुनिश्चित भएको छ । अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ । नेपाली कामदारलाइ मलेसियाको विमानस्थलमा पुगेको छ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्नेछ ।

    महिला कामदारका सम्बन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ । नेपाली कामदारले आफ्नो राहदानीलगायत आफ्ना निजी कागजात आफैँसँग राख्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।