• खिसिट्युरी गरिन्छ महिला सांसदलाई (With video)

    २०७६ अशाेज ९ 
    भदौ ५ मा प्रतिनिधिसभाको शून्य समय चल्दै थियो  । ५६ वर्षीया सांसद कुमारी मेचे पालो कुर्दै थिइन्  । १० सांसद बोलेपछि उनको पालो आयो । दाहिने हातमा माइक, देब्रे हातमा बोल्ने विषय टिपोट गरिएको कापी लिइन् । कापी हेर्दै बोल्न थालिन् तर सुरुवातमै अल्मलिइन् । अक्मकिँदै बोल्दा समय र विषयवस्तुमा ध्यान दिन सकिनन् । बोली नसक्दै समय सकियो । उनले सबैले बुझ्ने गरी कुरा राख्न नसके पनि मुलुकभर कृषकलाई मलको अभाव भएको समस्या उठाउन खोजेको अड्कल काट्न सकिन्छ ।

    यही विषयलाई लिएर सामाजिक सञ्जालमा महिला सांसदले बोल्न नजानेको र राज्यको समानुपातिक समावेशी प्रणाली प्रभावकारी नभएको विषयमा टिकाटिप्पणी भइरहेको छ । आफूले बोलेको महिना दिन हुन लाग्दा मात्रै सांसद मेचेले त्यसबारे टिकाटिप्पणी भएको थाहा पाइन् । उनले कान्तिपुरसँग भनिन्, ‘म बोल्न डराएर बिग्रेको होइन, बोल्ने तयारीका लागि समय नपुगेर गल्ती हुन पुगेको हो ।

    उनले कृषककै समस्या उठान गर्ने विषयमा तयारी गरेकी थिइन् । त्यसमा स्वकीय सचिव रहेकी कान्छी छोरीले सहयोग गरेकी थिइन् । संसद्मा बोल्ने दिन उनले रटेको टिपोट कोठामै छुटेछ । शून्य समयमा बोल्न नाम टिपाइसकेका कारण संसद्भित्रै साथी (सांसद शान्तिमाया तामाङ पाख्रिन) को सहयोगमा हतार–हतार टिपोट गरेका कुरा पढ्दा अल्मलिएको उनले बताइन् ।

    संसद्का चार अधिवेशनमा ४/५ पटक बोलिसकेकी उनले सामाजिक सञ्जालमा भाइरल भएको थाहा पाएपछि अप्ठेरो महसुस गरिन् । ‘रिस उठेर त्यसो गरेका हुन् कि,’ उनले भनिन्, ‘त्यसैले गुजारा चल्ने हो कि, अचम्म लागेको छ ।’ मेचेले अल्मलिँदै बोल्दा छेउमा बसेकी सांसद पाख्रिन उनलाई हेर्दै अनुहार छोपेर हाँसेकी थिइन् । भिडियोमा मेचे र पाख्रिनलाई क्यामेराले ‘फोकस’ गरेको छ । मेचेसँगै पाख्रिनलाई पनि सामाजिक सञ्जालमा घोचपेच गरिएको छ । Watch Video 

    गालीसहितका थुप्रै ‘म्यासेज’ र ‘कमेन्ट’ आएको पाख्रिनले सुनाइन् । ‘उहाँको पहिलो वाक्यमा ‘नेपाल कृषिप्रधान देश हो’ लेखिएको थियो, अक्मकिहाल्नुभो, कुरा बिग्रियो भनेर हाँसेको थिएँ,’ पाख्रिनले भनिन्, ‘मान्छेहरू के पाऊँ र भाइरल गरुँ भन्नेमा हुन्छन् । यसरी भाइरल बनाउलान् भन्ने सोचिनँ ।

    आफू हाँसेकोमा पछुतो लागेको छ ।’
    मेचे र पाख्रिन दुवै नेकपाका समानुपातिक सांसद हुन् । मेचेको ०३५ सालमा १५ वर्षकै उमेरमा विवाह भएको थियो । तीन छोरी जन्मिए । ०४५ सालमा २५ वर्षको उमेरमै विधवा भइन् । त्यतिबेला कान्छी छोरी ६ महिनाकी थिइन् । उनले झापाको बाहुनडाँगीमा कक्षा ३ पढ्दै गर्दा विवाह भएको थियो । त्यतिबेला छोरीलाई पढाउन हुँदैन भन्ने सामाजिक मान्यता थियो । उनी सानै उमेरदेखि नेतृत्व लिने विषयमा रुचि राख्थिन् तर वातावरण मिलेन ।

    सामान्य खेतीकिसानी गरेर जीविका धान्नसमेत मुस्किल भएकैले लेखपढको राम्रो अवसर पाइनन् । ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको राजनीतिक आन्दोलन चर्किरहेको थियो । लोपोन्मुख जातिको नेतृत्व गर्दै राजनीतिक आन्दोलनमा होमिन तत्कालीन मालेका केही नेताले मेचेलाई आग्रह गरे । उनी छोरीहरूको हेरचाह, घर–व्यवहार धान्दै आन्दोलनमा सरिक भइन् । ‘आर्थिक अवस्था कमजोर थियो, सानोतिनो व्यापार गर्दै छोराछोरी हुर्काएँ, बढाएँ,’ उनले भनिन्, ‘निकै दुःख भोग्नुपरेको थियो ।

    उनले ०४९ सालमा झापा धाइजान गाविस (हाल मेचीनगर नपा) मा महिला सदस्यको नेतृत्व पाइन् । ०६४ र ०७० को निर्वाचनमा भने जित्न सकिनन् । ०७४ मा आएर समानुपातिक सांसद हुने मौका पाइन् । ‘मैले सांसद हुन्छु भन्ने सोचेकै थिइनँ, अवसर आएपछि पछि हट्ने कुरा भएन,’ उनले भनिन्, ‘आफ्नो समुदायका लागि न्याय दिने प्रयास गरिरहेको छु । कतिपय अवस्थामा लेखपढकै अभावले समस्या हुन्छ ।

     मेचे समुदायलाई सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेको छ । करिब ५ हजार संख्यामा रहेका मेचे समुदायको बसोबास झापाको मेचीनगरमा मात्रै छ । संसद्‌मा भएको गल्तीका सन्दर्भमा आफ्नै कमजोरी रहेको उनी बताउँछिन् । ‘पार्टीले संसद्मा शून्य र विशेष समयमा कसरी बोल्नेबारे प्रशिक्षण दिएको छ,’ सांसद मेचेले भनिन्, ‘खाने, हिँड्ने, बस्ने, बोल्नेलगायत पदीय हैसियत सबै सिकाएको छ ।’ केही समयअघि संसद् सचिवालयले पनि महिला सांसदलाई शून्य समय र संसदीय शब्दबारे प्रशिक्षण दिएको थियो । 

    महिला सांसदले संसद्मा प्रभावकारी भूमिका निभाइरहँदा कहिलेकाहीं हुने मानवीय त्रुटिलाई उछाल्न नहुने उनले बताइन् । ‘शेरबहादुर देउवाले बोलेको चाहिँ भाइरल नहुने, हिजो विभेदमा पारिएका हामी अल्पसंख्यक, जनजातिले बोल्दाचाहिँ उछाल्ने ?’ उनले भनिन्, ‘यो हाम्रो समुदाय र समानुपातिक समावेशी प्रणालीमाथि आक्रमण हो । भाइरल गराउनु भनेको सिंगो राष्ट्रमाथिकै आक्रमण हो ।’ नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङले महिला सांसदलाई अनुकूलता मिलेसम्म प्रशिक्षणका लागि प्राथमिकतामा राखिएको बताए । प्रशिक्षणअनुरूप संसद्मा प्रस्तुत हुन नसक्नुमा दल मात्रै जिम्मेवार नहुने उनले बताए । 

    संसद्मा राम्ररी बोल्न नसकेको भन्ने सवालमा पार्टीको मात्रै भर परेर भएन, आफूले अध्ययन पनि गर्नुपर्‍यो,’ उनले भने । कांग्रेस सांसद सुजाता परियारले महिला सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो दलले केही हदसम्म सहयोग गरिरहेको बताइन् । सांसद भएलगत्तै कांग्रेसले सांसदलाई सामान्य प्रशिक्षण दिएको थियो । प्रशिक्षणसँगै सांसद पनि अध्ययनशील हुनु आवश्यक रहेको उनी बताउँछिन् । ‘बेला–बेला पार्टीले प्रशिक्षण गराउनु राम्रो हो,’ उनले भनिन्, ‘नदिँदा आफैंले पनि अध्ययन गर्नुपर्ने हुन्छ ।’ केही समयअघि संसद् भवनमा ‘एसी’ नचलेको बारे बोल्दा परियारमाथि सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदलाई प्रशिक्षण नपुगेकाले विषयकेन्द्रित भएर प्रस्तुति दिन नसकिरहेको स्विकारे । ‘पार्टी प्रशिक्षण, सरकारले ल्याउने नीति, विधेयकहरूका दूरगामी प्रभाव तथा भित्री पाटोबारे विज्ञहरूसँग प्रशिक्षण, अभिमुखीकरण सबैलाई आवश्यक छ भन्ने अनुभूत गरेका छौं,’ उनले भने, ‘पहिले सानातिना कार्यक्रम भएका पनि हुन्, आगामी दिन प्रभावकारी खालका कार्यक्रम गर्ने योजनामा छौं ।

    संघीय समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले चारवटा अधिवेशनमा १५ पटकभन्दा बढी बोलेकी छन् । मानव विकास सूचकांकको विषयमा आवाज उठाएकी छन् । तर सरकारले २५ प्रतिशत पनि सुनुवाइ नगरेको उनले गुनासो गरिन् । ‘सोध्नुपर्ने कुरा पुगेर हो कि नपुगेर हो, सुनुवाइ हुँदैन,’ उनले भनिन् । आफ्नो दलले सुझाव नदिँदा संसद्मा प्रभावकारी भूमिका निभाउन नसकेको उनले बताइन् । ‘मैले अहिलेसम्म जे बोल्दै आएको छु, आफ्नै हिसाबले बोलेको छु,’ उनले भनिन्, ‘सुनुवाइ नभइरहँदा बोल्ने मेसो पो पुगेको छैन कि ? पार्टीले प्रशिक्षण देओस् भन्ने लाग्छ तर आजसम्म दिएको छैन ।

    राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले पनि संसद्मा उठाएका विषय सुनुवाइ नभएको बताइन् । दलले पनि विषयवस्तु कसरी प्रभावकारी रूपमा उठाउने भन्ने प्रशिक्षण दिएको छैन । ‘मैले तराईवासीका समस्याबारे निकै उठाएँ तर सरकार सुन्दैन,’ उनले भनिन्, ‘पार्टीले प्रशिक्षण दिए, सरकारले सुन्ने बनाउन सकिन्थ्यो कि।’
    राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने महिला सांसदलाई विशेष प्राथमिकता दिँदै आएको बताए ।

    महिला सांसदलाई समयभित्रै बोलिसक्न उत्प्रेरित गरेका छौं, हिच्किचाउनेलाई बोल्न बाध्य बनाएका छौं, लेखेर पनि दिएका छौं,’ उनले भने । संसदीय सचिवालय, दल र विभिन्न एनजीओले क्षमता विकास र प्रशिक्षण दिँदै आएको जनाउँदै उनले भने। Kantipur बाट साभार