• डेंगुको नियन्त्रणमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप

    २०७६ भदाै  २३ काठमाडौं
     नेपालकाे  ४८ जिल्लामा डेंगुको सक्रमण देखिएको छ । तर डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा पनि रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    प्रतिनिधिसभाको हिजोको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराउनुभयो । सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउनुभयो ।

     सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताउनुभयो । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्दछ भन्नुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४८ जिल्लामा फैलिएको डेंगुबाट तीन हजारभन्दा बढी सङ्क्रमित भएका छन् र हालसम्म चारजनाको अकालमा मृत्यु भएको छ ।।