• चाइनिज ताइपेलाई हराएपछी नेपाली खेलाडीलाई जनही २५ हजार पुरस्कार

    १४ असोज
     एन्फाले विभिन्न समयमा घोषणा गरेको पुरस्कार मंगलबार खेलाडीलाई प्रदान गरेको छ । अखिल नेपाल फुटबल संघले विश्वकप छनोट खेलमा चाइनिज ताइपेसँगको खेलका सहभागी खेलाडीलाई जनही  रू २५ हजार रुपैयाँले पुरस्कृत गरेको छ । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेविरुद्धको अवे खेलमा २ः० काे जित हासिल गरेको थियो । त्यस्तै १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल टिमका प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ । 
    १८ वर्षमुनिको फुटबल टिमका प्रत्येक खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै नाजेज्दा कप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली महिला फुटबल टिमका सदस्यलाई जनही ५० हजार दरले एन्फाले पुरस्कृत गरेको छ । एन्फाले गत वर्ष सञ्चालित ए डिभिजन लिगको उत्कृष्ट खेलाडीहरुको पुरस्कार पनि मंगलबार नै प्रदान गरेको छ । गोलकिपरमा विशाल श्रेष्ठ, डिफेन्डरमा रञ्जित धिमाल, फरवार्डमा भरत खवास, मिडफिल्डरमा हेमन गुरुङ र प्रशिक्षकमा सुमन श्रेष्ठ पुरस्कृत भएका छन् । 

    उनीहरुलाई जनही एउटा मोटरसाइकल र ५० हजार रुपैयाँ दिइएको छ । उदीयमान खेलाडीको पुरस्कारसँगै विकास खवासले १ लाख रुपैयाँ पुरस्कार जितेका छन् । एन्फा दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार पनि मंगलबार प्रदान गरिएको छ । जसअनुसार उत्कृष्ट जिल्लाको पुरस्कार जिल्ला फुटबल संघ मोरङ, उत्कृष्ट क्लब मनाङ मर्स्याङ्दी, उत्कृष्ट रेफ्री लव खत्रीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरिएको छ । उत्कृष्ट महिला रेफ्री अस्मिता मानन्धरलाई एक लाख रुपैयाँ र एउटा स्कुटर पुरस्कार दिइएको छ । 

    उदीयमान खेलाडी अभिषेक रिजाल, उदीयमान महिला खेलाडीलाई अञ्जलीकुमारी योञ्जनलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइएको छ । नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने खेलाडी रोहित चन्द र किरण चेम्जोङलाई पनि जनही १/१ लाख पुरस्कार दिइएको छ । त्यस्तै उत्कृष्ट प्रशिक्षकको रुपमा हरि खड्कालाई १ लाख, लाइफ टाइम अचिभमेन्ट अवार्ड भगीरथ आलेलाई प्रदान गरिएको छ । उनलाई मोटरसाइकल र ३ लाख ५० हजार रुपैयाँ दिइएको छ । त्यस्तै फुटबल खेलाडी जुमानु राईलाई १५ लाख रुपैयाँले पुरस्कृत गरिएको छ ।