• अब नेपाल टेलिकमकाे फोरजी सेवा देशभरका ५० शहरी क्षेत्रमा


    २०७६  असोज १४
    नेपालकाे  प्रमुख दुर संचार सेवा प्रदायक निकाय  नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ ।
     भोली बुधबारदेखि ५० शहरी क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पुर्‍याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो ।

     टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार ५० शहरी तथा नगर क्षेत्रमा फोरजी सेवा उपलब्ध गराउने क्रममा ११० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । भोलीसम्म टावरको संख्या १५० सम्म पुग्नेछ । सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । यसैबीच टेलिकमले दशैंको अवसरमा घटस्थापनादेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ ।

     टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ । दोस्रो र तेस्रो पुस्ताका सीम चलाइरहेका ग्राहकले सामान्य रुमपा नै आफ्नो सीमलाई फोर जी बनाउन सक्ने पनि नेपाल टेलिकमले जनाएको छ ।