कालापानीमा आफ्नै जमिनमा टेक्न पाउँदैनन् नेपाली भारतीय सेनाको हवाई गस्ती बढ्रयाे , चौकी छाडेर हिँड्दै नेपाल प्रहरी




कात्तिक २५, २०७६
काठमाण्डौ - भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्छ । भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ ।  
पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ । तर नेपालले आफ्नै भूमिमा पनि उपस्थिति भने देखाउन सकेको छैन ।

कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल (एसएसबी) र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपी)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको थियो । पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिन्छ ।
उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ ।

पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ ।

अतिक्रमित क्षेत्रभन्दा वर एक दिनको पैदल दूरीमा रहेको प्रहरी चौकी पनि यतिबेला त्यो ठाउँ छाडेर झनै वर आएको छ । दार्चुलाको सबैभन्दा उत्तरी क्षेत्रमा तिंकरस्थित छाइलेक प्रहरी चौकी छ । यो प्रहरी चौकीबाट नेपाल भारत विवादित सीमा क्षेत्र कालापानी पुग्न एक दिन पैदल यात्रा गर्नु पर्छ ।

 विवादित सीमा क्षेत्र कालापानीबाट एक दिनको पैदल दूरी वरै रहेको यो प्रहरी चौकी पनि अहिले खालि भइसकेको छ । जाडो सुरु भइसकेको र त्यहाँ बस्न सकिने अवस्था नरहेकाले छाइलेक प्रहरी चौकी अहिले तल झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो । 

छाइलेकमा रहेका प्रहरी अहिले त्यसभन्दा तल छ्याङरु(छाङरु)मा रहेको सीतापुर प्रहरी चौकीमा आएर बसेको छ । ‘तिंकरमा बसोबास गर्ने स्थानीय सबै तल झरेपछि प्रहरीको टोली पनि तल झरेको हो’, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले अनुसार, ‘पहिला स्थानीय तल झर्छन्, सबै तल झरेको निश्चित गरेपछि अनि बल्ल प्रहरी पनि छ्याङरुमा रहेको सीतापुर प्रहरी चौकीमा झर्छ ।’ चिसोका कारण प्रहरीहरु वर्षको झण्डै ५ महिना मात्रै तिंकरमा रहेको छाइलेक चौकीमा बस्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । 

अहिले छ्याङरु रहेको सीतापुर प्रहरी चौकी आइपुगेको टोली केही समय मात्रै त्यहाँ बस्छ । चिसो अझै बढ्दै गएपछि भने त्यो क्षेत्रका बासिन्दासँगै प्रहरीहरु अझै तल झरेर व्यास गाउँपालिकाको वडा नम्बर २ मा आइपुग्छन् । 


ब्यास गाउँपालिकामै पर्ने कालापानीमा अहिले राज्यको उपस्थिति नै छैन । बरु कालापानीको नेपाली भूभागतर्फ भारतीय सुरक्षाकर्मी क्याम्प नै खडा गरेर बसेका छन् । नेपाली सुरक्षाकर्मी चिसोका कारण तल झर्दै गर्दा भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा कब्जा जमाउँदै आइरहेका छन् ।



आफ्नै जमिनमा टेक्न पाउँदैनन् नेपाली
चालू आर्थिक वर्षमा व्यास गाउँपालिकाले कालापानी क्षेत्रमा मन्दिर बनाउने तयारी गरेको थियो । त्यसका लागि गाउँपालिकाले चार लाख रुपैयाँ बजेट विनियोजन नै गर्यो । उपभोक्ता समितिसमेत बनाएर कालापानीमा काली मन्दिर निर्माणका लागि जाँदा भारतीय सुरक्षा फौजले अवरोध गरेको व्यास गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले बताउनुभयो । 

महाकाली नदीवारि नेपाली भूभाग कब्जा लिएर बसेको भारतीय सुरक्षाकर्मीले नेपालकै भूभागमा मन्दिर बनाउन नदिएपछि आफूहरु फर्किन बाध्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मीले क्याम्प नै बनाएर बसेकाले नेपालीहरु आफ्नै भूमिमा जान पनि प्रतिबन्धित छन् ।’ 
भारतीय फौजले अतिक्रमण गरेको ठाउँमा तारबार नै लगाएर बसेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । गाउँपालिकाको २ नम्बर वडाबाट कालापानी क्षेत्र रहेको १ नम्बर वडामा पुग्न मोटर बाटो छैन । गाउँपालिकाले गएको वर्षमात्रै पैदल मार्ग बनाएको छ । 
पैदलमार्ग बन्नुअघि कालापानी पुग्न भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो । तर अहिले नेपाली भूमिबाटै जान सकिने गरी पदमार्ग भने बनाइएको बुढाथोकी बताउनुहुन्छ । पदमार्ग बनाउने बेलामा पनि कालापानी क्षेत्रमा पुगेपछि भारतीय फौजले रोकेको उहाँ सम्झनुहुन्छ । सडक सुविधा नहुँदा र राज्यको उपस्थिति नै नहुँदा भारतीय फौजले नेपाली भूमि कब्जा गरिराखेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुहुन्छ ।
नेपालीहरुको बसोबास पनि नरहेको र राज्यको उपस्थिति पनि नरहेकाले भारतीय पक्षले मनलाग्दी रुपमा सीमा क्षेत्र तल सार्दै आउन सहज भएको उहाँको बुझाइ छ ।