पूर्वमन्त्री आलमलाई थुनामा पठाउन अदालतको आदेश, सांसद पद भयो निलम्बन

२०७६ कार्तिक २९ ,काठमाडौं
रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। यससँगै उनको प्रतिनिधिसभा सदस्य पद स्वत: निलम्बनमा परेको छ।
एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको छ।
२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन।
सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो। आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।
