निर्मल पुर्जा मगरको टोलीले कानूनविपरीत आमादब्लममा कुवेतको झण्डा फहराएको ठहर



२ मंसिर
आमादब्लम हिमालमा कुवेती झण्डा फहराइएको विषयमा विवाद बढेपछि पर्यटन विभागले छानबिन गरेको छ । छानबिनबाट सरकारको अनुमतिबिनै झण्डा फहराइएको पाइएको पर्यटन विभागले जनाएको छ ।
नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जासमेत सहभागी आरोहण दलले गत साता आमादब्लम हिमाल आरोहण गरेको थियो । आरोहणका क्रममा विशाल आकारको कुवेती राष्ट्रिय झण्डा शिखरमा फरफराइएको भिडियो पुर्जाले  सामाजिक सञ्जालमा राखेका थिए । यसलाई लिएर विभिन्न टिप्पणीहरु भएका थिए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले झण्डा लैजान सरकारसँग अनुमति नलिइएको बताए । यस विषयमा आरोहण दल, टोली नेता र सरकारी सम्पर्क अधिकृतसँग स्पष्टीकरण लिइएको उनको भनाइ छ ।
‘दुई देशबीचको कूटनीतिक सम्बन्धसँग जोडिएको विषयसमेत भएकाले कुनै कम्पनीले लुकाएर झण्डा लैजानु अस्वभाविक हो,’ घिमिरेले  भने ।
स्पष्टीकरणका दौरान आरोहण दलले झण्डा लैजान अनुमति चाहिन्छ भन्ने थाहा नभएको बताएको छ । जबकि यो आरोहण अभियान चलाउने कम्पनी हिमालयन एडभेन्चर पछिल्लो कीर्तिमानी आरोही पुर्जाकै रहेकाे छ  । ८ हजार मिटर अग्ला विश्वका सबै हिमाल चढेका आरोहीलाई आरोहणसम्बन्धी  कानून थाहा नहुनु आश्चर्यको कुरा भएको विभागका अधिकारीहरु बताउँछन् ।