विरोधका बिच हङकङमा निर्वाचन


काठमाडौं, मंसिर ०८
झण्डै छ महिना भन्दा लामो समय देखि सरकार विरोधी प्रदर्शन भइरहेको हङकङमा आज स्थानीय निर्वाचन हुदैछ । हङकङको कार्यकारी मानिने जिल्ला परिषद् प्रमुखको चयन गर्नका लागि ४०० जना पार्षदहरु छनोट गर्न हुन लागेको निर्वाचनले जारी प्रदर्शनलाई अन्त्य गर्ने विश्वास गरिएको छ ।

 विवादास्पद कानूनको विषय र त्यसको विरोधमा उत्रिएकाहरु माथि सरकारले दमन गरेको भन्दै गत जेठ अन्तिम सातादेखि भइरहेको प्रदर्शन शहरको नयाँ नेतृत्व आएसंगै सकिने अनुमान धेरैले गरेका छन् । 

त्यसैले यो निर्वाचनलाई कतिपयले सरकारको जनमत सर्वेक्षण पनि भनेका छन् । प्रदर्शनरत समूहका नेताहरुले निर्वाचन नविथोल्न र शान्तिपूर्ण तरिकाले मतदानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।  निर्वाचनबाट आफ्ना पक्षका पार्षदहरुको प्रतिनिधित्व बढाउदै आफ्ना अधिकार स्थापित गराउन सकिने उनीहरुले बताएका छन् । 

आजको मतदानमा हङकङकै इतिहासमा सबैभन्दा बढी ४१ लाख मतदाताले सहभागीता जनाउन लागेका छन् । ४५२ सीटका लागि हुने निर्वाचनमा एक हजार ९० जना उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन् । ती स्थानबाट चुनिएकाहरुबाट छनोटहुने ११७ जना जिल्ला परिषद्का सदस्यहरुले हङकङको नयाँ नेतृत्व छान्ने छ ।