भ्वाइस अफ नेपालबाट बाहिरिएकी रजनीले भनिन : मलाई यति नै काफी छ !


०७६  कात्तिक ३० 
जीवन-संगीतको धुन कस्तो हुन्छ ? कतै रोमाञ्चकता त कतै विरहको भाका जस्तो । रजनी ‘रिदम’ राईको भागमा जीवन विरहकै भाका जस्तो भइदियो । कहिले दाम्पत्य जीवनमा आइपरेका ठेसले त कहिले छोरीसँग बढेको भौगोलिक दूरीले ।
यद्यपि उनले आफ्नो जीवनको लय गुमाइनन् । भोगाईहरु जतिसुकै तीतामिठा भएपनि आफैभित्र माधुर्य धुन खोजिरहिन् । र, गुञ्जिइन् सबैतिर ।
‘भ्वाइस अफ नेपाल-२’ को मञ्चमा टेक्दासम्म उनी कहाँ थिइन् ? के गर्दै थिइन् ? उति धेरै अत्तोपत्तो थिएन । तर, उनी अविछिन्न संगीतमै हेलिएकी थिइन् । ‘सानैदेखि गीत-संगीत भनेरै हुर्किएँ’ हालैको भेटमा रजनीले अनलाइनखबरसँग भनिन्, ‘थुप्रै गीत गाएँ, कति गीत चल्यो पनि । तर मेरो चिनारी बनेन ।
भ्वाइस अफ नेपालका लागि काठमाडौं आउनुअघि रजनी पोखरामा थिइन् । पोखरामा आउनुअघि दार्जीलिङमा थिइन् । दार्जीलिङको खस्र्याङमा । त्यो थातथलोबाट मेचीखोला तर्नुको एउटा ध्येय थियो, गायिका बन्ने । तर, त्यसपछिका जीवन लयवद्ध गर्न उनी असमर्थ भइन् । कतै सूर-ताल नमिले झै भइदियो, जीवन ।
हेर्नुस रजनीले गाएकाे  हिट भिडियाे ः 


६ वर्षमै भजन मन्डलीको संगत
गाउँमा भजन मण्डली थियो, साई धर्म मान्ने । उनीहरु भजन गाउँथे । रजनी त्यसबेला सानी थिइन् ।
दिदी मन्दिर जाँदा रजनीलाई डोहोर्‍याउँथे । भजन मण्डलीमा बस्थे । भजन गाएको सुनेर त्यसमै भाका हाल्न मन लाग्थ्यो । तर, गाउने आँट थिएन ।
घर फर्केपछि उनी एक्लै गुनगुनाउँथिन् । एकदिन उनी गुनगुनाइरहेकी थिइन् । दिदीले पछाडिबाट चुपचाप सुनिरहेछन् । ‘मैले गाएको सुनेपछि विस्तारै चाल मरेर मेरो पछाडि उभिनुभएछ र सुन्नुभएछ’ रजनी सम्झन्छन्, ‘त्यसपछि भजन मण्डलीमा गाउन लगाउनुभयो ।’
रजनीले भजन मण्डलीमा गाइन् । सबैले तारिफ गरे, ‘आहा, कति सुरिलो स्वर !’
त्यसबेला उनको उमेर नै कति थियो र ? जम्माजम्मी ६ वर्षकी फुच्ची ।
भजन गाउँदागाउँदै उनको स्वर माझिँदै गयो । गायकीमा रहर पनि फक्रदै गयो । उनलाई लाग्यो, ‘म गायिका बन्नुपर्छ ।’ त्यसपछि पो उनको गायन-यात्राको थालनी भयो ।
दार्जीलिङ आइडल एक मोड
स्थानीय क्षेत्रमा भएको ‘दार्जीलिङ आइडल’ उनको करियरको निम्ती एउटा मोड बन्यो । त्यही मोडबाट उनी स्थानीयमाझ छाइन् । प्रतियोगितामा रजनी दोस्रो भएकी थिइन् । यद्यपि त्यसले उनलाई आसपासको क्षेत्रमा राम्रैसँग परिचित गराइदियो ।
त्यसअघिसम्म उनले गाउँ र टोलको परिधी नाघेकी थिइनन् । गाउँमै हुने भजन प्रतियोगितामा भाग लिन्थे । ‘दार्जीलिङ आइडल आफैंमा त्यस्तो ठूलो प्रतियोगिता त थिएन, तर त्यसले मलाई आत्माविश्वास जगाइदियो’ रजनी सम्झन्छन्, ‘म पनि गाउन सक्ने रहेछु भन्ने कुरा बोध भयो ।’
दार्जीलिङ आइडल भएपछि उनी स्थानीय स्तरका मञ्चहरुमा उक्लन थालिन् । कहिले सिक्किम त कहिले जोरथाङ, कहिले सिलगुढीको मञ्चमा उनले आफूलाई पस्किइन् । यसरी उनको सांगीतिक जीवनले तिब्रता लिँदै थियो । त्यही बेला रजनी दाम्पत्य जीवनमा बाँधिइन् । त्यसपछि भने उनको जीवन उस्तै रहेन ।
दार्जीलिङबाट पोखरा
विवाह गरेको केही समयपछि रजनी पोखरा आइन्, कर्म खोज्दै । यद्यपि मनमा एउटा दृढता थियो, नेपालमा आफ्नो गायकीलाई अरु बढी पोख्नेछु । ‘खासमा म नेपाल आउनुको कारण संगीतमा केही गर्छु भनेर नै थियो’ रजनी भन्छिन् ।
रजनीले श्रीमान्सँगै पोखरामा विद्यालयमा पढाउन थालिन् । यससँगै गीतहरु पनि गाउँदै गइन् । एकातिर विद्यालय पढाउने काम, अर्कोतिर गीत-संगीत । उनको समय पढाउने काममा ढल्कियो । बेलामौकामा गाउने र गीत रेकर्ड गर्नेभन्दा धेरै केही गर्न सकिनन् । यद्यपि उनका केही गीत भने स्थानियस्तरमा रुचाइए । जस्तो कि, ‘रुपै राम्रो रुपातालको’, ‘साट्न आउनु धम्पुसमा हिमाल जस्तो जोवन ।
गीत त उनी गाउँथिन् । तर, आफ्नै विद्यालयका विद्यार्थीहरुले समेत भेउ पाउँदैनथे कि, रजनीले गाउँछन् । ‘मेरो गीतचाहिँ उनीहरुले सुनेका हुन्थे’ रजनी सम्झन्छन्, ‘तर त्यो गीत गाउने म नै हुँ भनेर उनीहरुले चिनेका थिएनन् ।’
पोखरामा रहँदा उनलाई गीत संगीतमा साथ र सहयोग गरे, सर्वज्ञमान शाक्यले । उनको रेकर्डिङ स्टुडियोमा कसैले नयाँ गीत लिएर पुगेछन् । गीत कसलाई गाउन लगाउने ? चर्चा भएछ । त्यहीबेला सर्वज्ञमान शाक्यले रजनीलाई सम्झिए । ‘उहाँले मौका दिनुभएपछि नै मैले पोखरामा खुलेर गीत संगीतमा लाग्न पाएँ’ रजनी भन्छन् ।
कन्दरा व्यान्डका ड्रमर तथा कम्पोजर सुनिल थापाले पनि रजनीलाई त्यसबेला निकै सहयोग गरे । पोखरामा पर्यटनसम्बन्धी गीत गाउने गायिकाको रुपमा रजनीको चिनारी बन्यो ।
‘रिदम’ छोरीलाई सम्झेर
रजनीले नेपाल बसाइमा आफ्नो नामको माझमा घुसाइन्, रिदम । यससरी नाममा फुर्को जोड्नुको पनि कारण छ । एक त रजनी गीत संगीतमा हेलिएकी । संगीत नै जीवन हो भन्ने बुझेकी । त्यही कारण उनले आफ्नो नामसँगै रिदम जोडिन् । अर्कोचाहिँ, छोरीका खातिर । आफ्नो छोरीको नाम सधैं उच्चहरण होस् भनेर उनले रिदम जोडेकी हुन् । छोरीको नाम हो, रिदम ।
‘रिदम नामले मलाई बेग्लै जाँगर र उर्जा दिलाउँछ’ रजनी भन्छिन्, ‘खासमा मलाई बाँच्न प्रेरित गर्ने पनि यहीँ नामले हो ।’
छोरी उनीसँग छैनन् । आफ्ना पितासँगै दार्जीलिङमा बस्छिन् । पोखरामा छँदै श्रीमान्सँग उनको सम्बन्ध बिग्रियो । दुबै अलग भए । त्यसपछि श्रीमान् छोरी लिएर दार्जीलिङतिर लागे । रजनी पोखरामै भविश्य खोज्न थालिन् ।
आमा खै त तिमी टीभीमा आएको ?
भौगोलिक दुरीले टाढिएपनि आमा छोरी कसरी टाढा हुन सक्थे र । बेलाबेला कुराकानी भइरहन्थ्यो । र, छोरी रिदमले बारम्बार सोध्ने एउटै प्रश्न थियो, ‘आमा खै त तिमी टिभीमा आएको ?’
जवाफ थिएन, रजनीसँग । किनकी पोखरामा बसेर गीत संगीतमा लागिरहे पनि उनको ख्याती त्यसरी चुलिएको थिएन, जसले उनलाई सर्वाजनिक चिनारी दिलाएको होस् । गीत रेकर्ड गराउँथिन्, स्थानिय मञ्चहरुमा सहभागी हुन्थिन् । वस् यतिमै फन्को लगाइरहेको थियो, उनको सांगीतिक करियर ।
तर ‘भ्वाइस अफ नेपाल-२’ को प्लेटर्फम पाएपछि भने उनले आफूलाई अरु फैलाउन अवसर पाइन् । टेलिभिजनमा उनको अनुहार देखियो, आवाज गुञ्जियो । त्यसपछि पो छोरीले भनिन्, ‘आमा, तिमीलाई हामीले टीभीमा देख्यौं ।’
त्यसैले शुक्रबार राति टप १२ बाट बाहिरिने पहिलो प्रतिस्पर्धी बन्दा पनि उनको ठूलो गुनासो छैन । ‘म एकदमै खुसी छु । किनभने मेरो छोरीले एक पटक मात्र होइन, दुई पटक मात्र होइन । चार पटक मलाई टीभीमा देखिन् । जसले मेरो स्वर मात्र चिन्न हुन्थ्यो, उहाँहरुले पनि चिन्नुभयो’, उनले भनेकी छन् ।
भ्वाइस अफ नेपालको मञ्चमा उक्लनु नै रजनी आफ्नो करियरको टर्निङ प्वाइन्ट मान्छिन् । किनकी जित्नु र हार्नु आफ्नो ठाउँमा छ । तर यो खुड्किलोसम्म आइपुग्दा उनले जुन चर्चा पाइन्, त्यसले उनको गायकीलाई थप उचाई भने दिलायो । ‘अहिले धेरैले चिन्न थालेका छन्, कार्यक्रममा निम्तो दिन थालेका छन्’ रजनी फुरुंग छिन्, ‘यति नै मेरो लागि काफी छ ।