नारायणीमा ‘मिनी पानीजहाज’को सफल परीक्षण


२०७६ पुस ७ चितवन - भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज) को आइतबार नारायणी नदीमा परिक्षण गरिएको छ । आइतबार दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले नेपालको इतिहासमै पहिलोपटक यति ठूलो क्रुज सिप बनाएर सफलतापूर्वक टेष्ट ड्राइभ गर्दा निकै खुसी लागेको बताए ।

क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको थियो । मिनी क्रुज सिपको टेष्ट ड्राइभ सफल भएपछि निर्माणकर्ताहरु हर्षित छन् । यसअघि दशैं अगाडि नै तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको भए पनि डिजाइनमा केही परिवर्तन गर्नु परेकाले समय र लागत दुवै बढेको कम्पनीका प्रवन्ध निर्देशक कँडेलले बताए । नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुई वटा इञ्जिन छन् । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ ।


पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । जसकाे लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेशनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएको बताए । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । सञ्चालक सेवाइस्टनले भने, ‘कुनै ठाउँबाट पानी पसे निश्चित सानो च्याम्बरमा मात्रै जान्छ, अन्यत्र जाँदैन, त्यसलाई पनि तुरुन्तै फाल्ने प्रविधि बनाएका छौं ।’ क्रुजको दुई तलामा सिसा राख्न बाँकी छ । महिला र पुरुषका लागि अलग-अलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ ।


लाइट राख्ने काम भैरहेको छ भने चालक बस्ने ककपिट तयार भइसकेको छ । प्रवन्ध निर्देशक कँडेलले भने ‘झ्यालको सिसा केही दिनभित्र राखिसकिने छ, एसी जडान हुँदैछ, भित्री भागमा राखिने कुर्सी आउने क्रममा छ ।’ क्रुज सिपमा हाल १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना छ । क्रुज राख्न च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ । चढ्न र झर्न यहीँ नै आउनु पर्छ । मिनी पानीजहाजभित्र साँस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम, पानी ट्यांकी राख्ने लगायतका काम भैरहेका छन् । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट छुट्याइएको छ ।