मकवानपुरकाे जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो


२०७६ पुस ११ काठमाडौं - मकवानपुर जिल्लाकाे इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या ५ जना पुगेको छ । साे दुर्घटनामा परी अन्य ४ जना घाइते छन् । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश ३ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन ।

मृतकहरु मध्ये हालसम्म २ जनाको मात्रै सनाखत भएकाे छ । जिप दुर्घटनामा ज्यान गुमाउनेहरूमा राैतहटको चन्द्रपुर नगरपालिका-९ का २१ वर्षीय मनिष विक र उनकी श्रीमती २० वर्षीया सिर्जना विक रहेका खुलेकाे छ ।मृतक मध्ये १ महिला र २ पुरुषको पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक पौडेलले बताएका छन । घाइते ४ जना मध्ये सर्लाहीका २२ वर्षीय रञ्जित रिमाल र रौतहटका ५६ वर्षीय जइ साहको काठमाडौंस्थित वयोदा हस्पिटल बल्खुमा र हेटाौंडा-१७ का ३० वर्षीय जीपका चालक अनिल विक र रौतहटका ३० वर्षीय नन्दकिशोर साहको मेडीसेटी हस्पिटल भैंसीपाटीमा उपचार भइरहेको छ ।

रौतहट चन्द्रपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि झण्डै ५ सय मिटर तल खसेको थियो । सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अत्याधिक चिसोको कारण ब्रेक नलाग्दा दुर्घटना भएको हुन सक्ने देखिए पनि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।