बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने - ग्रहण लाग्दा के गर्ने हुन्छ के गर्न हुदैन जान्नुस


२०७६ पुष ०८:पौष कृष्ण औँसीका दिन पर्सी बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान ८ बजे र ४२ मिनेटमा स्पर्श गर्ने छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । ग्रहण बिहान १० बजे र ०१ मिनेटमा मध्य र ११ बजे र ३१ मिनेटमा समाप्त हुनेछ ।

ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि शास्त्रीयरूपमा निषेध गरिएको छ । यसैगरी ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि ग्रहण हेर्न राम्रो मानिएको छ । बाँकी राशिलाई शुभ फल नदिने पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोहरुमा उल्लेख छ ।

यसैबीच यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको भएपनि यसपटक भने वार्षिक पात्रोमा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । हालसम्म सूर्यग्रहणका लागि पुस १० गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय नभएको प्रवक्ता शर्माले बताउनुभयो । ग्रहण बार्नेका लागि कार्यालय समय हुने भएकाले बिदा दिए सहज हुने माग हुन थालेको छ ।