होडिङ बोर्ड हटाउने काम तत्काल बन्द गर्न ब्यबसायीकाे माग


२०७६ पुष १२ काठमाण्डाै - सरकारले काठमाण्डाै महानगरमा रहेका हाेडिङ बाेर्ड हटाउने निर्णय गरे पछी साइनोज एसोसिएशन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तुरून्त रोक्न माग गरेको छ । सरकारकाे साे कदम बाट देशमा रहेका करिब ७५ हजारभन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको निर्णय रोक्न माग गरेको हो । शनिबार राजधानीकाे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न समेत माग गरेको छ ।

बाेर्डहरु हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने माग उनीहरूकाे रहेकाे छ । विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले सरकारले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गर्नुभएको थियाे । होडिङ बोर्ड गृहमन्त्रालयले हटाउने कि पर्यटन मन्त्रालयले हटाउने वा ट्राफिक प्रहरी कसले हटाउने भन्दै स्पष्ट नीति बन्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले निमुखा मारेर वैदेशिक रोजगारीलाई प्रश्रय नदिन समेत सरकारलाइ आग्रह गर्नुभयो । गृहमन्त्रालयले बिहीबार शहरलाई कुरुप बनाउने गरी राखिएका पोस्टर, होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, तार लगायतका सामग्री हटाउने निर्णय गरेको थियो । काठमाण्डौ महानगरपालिकाभित्र चार समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिएर कारबाही अघि बढाउने निर्णय गृहले गरेसँगै व्यवसायीले बिराेध गरेका हुन ।