माथिल्लो कक्षा नभएपछि एउटै कक्षामा पढाइ !


काठमाडौं,पुष ०७: - चितवनको पहाडी इलाकामा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायका बालबालिका तीन कक्षाको पढाइ दोहोर्‍याएर पढ्न बाध्य छन् । तर उनीहरु कक्षा तीनमा फेल भएर भने एउटै कक्षामा दोहोर्‍याएर पढेका होइनन् । घर नजिकै चार कक्षा पढ्ने विद्यालय नभएपछि उनीहरुले एउटै कक्षा दोहोर्‍याएर बढ्नु परेको हो ।

चेपाङको बहुल्यता रहेको पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ थन्द्राङ र कालिका नगरपालिका- ११ सैपामका चेपाङ बालबालिका नजिक विद्यालय नहुँदा समस्यामा परेका हुन् । सो क्षेत्रमा चार कक्षा पढ्न नजिकैको विद्यालय पुग्न दुईदेखि तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा ८ वटा आधारभूत विद्यालय र एउटा मावि पनि छ । तर माबिमा पढाउने शिक्षक नभएकाले पढाई हुँदैन । त्यसैले तीन कक्षा पढेपछि पढाई नै छोड्नुपर्ने बाध्यता छ ।
संघीयता लागू भएपछि चेपाङ विकास कार्यक्रम बन्द भएको छ । सम्बन्धित पालिकाले चेपाङका बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरेका छैनन् । चेपाङको कुल जनसङ्ख्यामा ७५ प्रतिशतभन्दा बढी निरक्षर छन् ।