आज नेपालमा सबैभन्दा बढी चिसो तापक्रम झण्डै शुन्य डिग्री त कतै माइनसमा


२०७६ पुष १० - काठमाण्डौंको तापक्रम आज यो वर्ष कै कम भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । हिजो २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम आज बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो । आज बिहान तुषारोले काठमाण्डौलाई ढपक्कै छोपेको थियो ।

बिहानैदेखि उपत्यकामा अत्यधिक चिसो महसुस गरिएको छ । आज बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । तापक्रम अझैं घट्ने अनुमान मौसमविद्हरुले गरेका छन् । विहानको समयमा तराईमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन पनि मौसमविद्हरुले आग्रह गरेका छन् ।