सिद्धबाबाको अडियो मेल खाएकाे प्रहरीकाे दावी


२०७६ पुष १० इनरुवा - आफूमाथि लगाइएको जबरजस्ती करणीको आरोप झुटो भएको दाबी गर्दै आएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आफ्नो अनुयायीसँग गरेको टेलिफोन वार्तालापको अडियो मेल खाएको छ । सुनसरी जिल्ला अदालत समक्ष मिसिल बुझाउने तयारी गर्दै गर्दा प्राप्त स्रोतको जानकारी अनुसार कृष्णदासले आफ्नो नभएको भनेको अडियोमा उनकै आवाज मेल खाएको हो । स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टमा टेलिफोन रेकर्डमा अनुयायीलाई मुद्धा फिर्ता लिन कृष्णदासले गरेको आग्रह र आफ्नो गल्ती स्वीकारेका आवाज ७७ प्रतिशत मेल खाएको छ ।

स्रोत भन्छ, “प्रमाणका लागि ५० प्रतिशतनै काफी हुन्छ । प्राप्त रिर्पोटमा कृष्णदासको ७७ प्रतिशत आवाज म्याच भएको छ । मिसिलका रुपमा अडियो परीक्षण रिर्पोटसँगै अन्य रिपोर्टका साथै पीडितको बयान र प्रहरी अनुसन्धानको प्रतिवेदन अदालत समक्ष बुझाउने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार पीडित महिलाले कृष्णदासले आफूलाई कोठामा करणी गरेको आरोप लगाएकी छिन् । सुनसरी प्रहरीले सम्पूर्ण कागजात सरकारी वकिल कार्यालयमा बुझाई सकिएको जनाएको छ । डीएसपी विनोद शर्माले सरकारी वलिक कार्यालय मार्फत कृष्णदाससँग सम्बन्धित मिसिल आज अदालत बुझाइने बताए । आज अदालतमा मिसिल बुझाएपनि थुनछेकको प्रकृया भने भोलिबाट मात्र सुरु हुने भएको छ ।

आज अवेरसम्म पनि मिसिल अदालतमा नबुझाइएकाले मुद्दा दर्ता बाहेकको काम सम्भव नहुने कानून व्यवसायीहरुको भनाइ छ । १० बजेपछि पेश भएको मुद्दामा थुनछेकका लागि गोला नहानिने यसअघिनै सुनसरी बार र बेन्चबीच सहमति भएको छ । सो सहमति अनुरुप आज अदालतमा सरकारी वकिल मार्फत मिसिल दर्ता मात्र हुनेछ । बयान लगायतका अन्य अदालति प्रकृया भोलिबाट मात्र सुरु हुने कानून व्यवसायीहरु बताउँछन् । थुनछेक बहसको प्रकृया नलम्बिएमा एक दिनभित्रै सकिने बताइएको छ । सम्भवतः अदालतले भोलिनै कृष्णदासको मुद्दाको सवालमा छिनोफानो गर्न सक्ने कानून व्यवसायीहरुको अनुमान छ ।

कृष्णदासका सवालमा सादा तारेख, धरौटी वा पूर्पक्षमध्ये कुनै एक आदेश अदालतबाट हुन सक्ने कानून व्यवसायीहरु बताउँछन् । प्रहरीले मिसिलसँगै कृष्णदासलाई समेत अदालतमा उपस्थित गराउँछ वा गराउँदैन भन्नेमा एकिन भइसकेको छैन । डिएसपी शर्माले कृष्णदासको मिसिल मात्र अदालत बुझाइने बताएका छन् भने कानून व्यवसायीहरु मिसिलसँगै कृष्णदासलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने धारणा राख्छन् । कानून व्यवसायीहरु भन्छन्, ‘मिसिलसँगै कृष्णदासलाई अदालत उपस्थित गराउँदा आजको मितिमा मुद्धा दर्ता बाहेक अन्य अदालति प्रकृया अघि बढ्ने सम्भावना छ्रैन ।

सो अवस्थामा अदालतबाट कुनै आदेश नहुँदा आरोपितलाई अस्पतालमा पु¥याएर राख्ने बाटो कानूनी रुपमा प्रहरीले पाउँदैन । सो अवस्थामा कृष्णदासलाई प्रहरी हिरासतमै राख्नुपर्ने अवस्था सिर्जना हुन जान्छ ।” कृष्णदासलाई आज अदालत पेश गर्ने सूचनाका आधारमा उनको समर्थनमा महिला अनुयायीहरु अदालत परिसर बाहिर भेला भएका छन् । भोलिका लागि भने पीडितको तर्फबाट कृष्णदासलाई कारवाहीको मागसहित महिला अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाले दबाब मूलक कार्यक्रम गर्ने तयारी थालेको बुझिएको छ । अाजकाे न्युज २४ मा खबर छ ।