रारा तालका माछा मर्न थाले


२०७६ पुष १३ काठमाडौं - कर्णालीमा अबस्थित रारा तालमा पाइने विश्वकै दुर्लभ असला माछा एक साता देखि मर्न थालेपछि चासो र चिन्ता बनेकाे छ । तालमा रहेका माछा मर्नुको खास कारण भने हाल सम्म थाहा हुन सकेको छैन । मरेका र विरामी माछाको आँखा सामान्य भन्दा केही ठूलो हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

उनीहरूका अनुसार माछा दिनहुँ मरिरहेका छन् । नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा यसरी माछा मर्दा राराको आकर्षणमा कमी आउने भन्दै समयमै ध्यान दिनुपर्ने स्थानीयको भनाई छ । तर मरेका माछा तालमा रहेका हाँसहरुले तत्कालै खाने भएकाले भेट्न मुस्किल हुने गरेकाे छ ।

नेपालकै ठूलो र सुन्दर ताल राराको सौन्दर्य यी दुर्लभ जातका माछाले पनि बढाएका छन् । स्वच्छ र सफा रारामा अचेल माछाको गन्ध आउन थालेकाले माछाहरु सखापै हुने हुन् कि भन्ने चिन्ता बढ्न थालेकाे छ । रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले माछा मर्नुको वास्तविक कारण पत्ता लगाउन मरेका माछा काठमाण्डौ ल्याइ अनुसन्धान भैरहेको जानकारी दिएका छन ।