काे हुन सागमा इतिहास रच्ने नेपाली जलपरी गाैरिका ?


२५ मंसिर
पाैडीबाज गौरिका सिंह, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सँगै यो नाम नेपाली खेलकुदमा अविस्मरणीय बनेको छ । स्मरणीय के छ भने उनी भर्खर १७ वर्षकी किशोरी हुन् र उनले अझ लामो यात्रा तय गर्न बाँकी छ ।
घरेलु भूमिमा आयोजित १३ औं सागमा गौरिकाले सिंगो देशको इज्जत बढाइन् । नेपालले गौरव गर्नलायक खेलाडी पाएको छ । दक्षिण एसियाली प्रतियोगितामा उनले बनाएका कीर्तिमानहरुले अरु खेलाडीलाई पनि प्रेरणा मिल्नेछ  ।
भुपरिबयस्थित देश नेपालकाे  बिगतमा  पौडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रदर्शन सम्झन लायक थिएन । सागका १२ वटा संस्करणमा नेपालले पौडीतर्फ जितेको जम्मा एउटा स्वर्ण हो, त्यो पनि भाग्यले पाएको (सन् १९९९ मा नेपालमै भएको आठौं साफ खेलकुदको टिम इभेन्टमा नेपाल तेस्रो भएको थियो, तर भारत र पाकिस्तानका खेलाडी प्राविधिक गल्तीका कारण ‘डिस्क्वालिफाइड’ भएपछि नेपाललाई स्वर्ण हात लागेको थियो) ।
 १३ औं सागमा गौरिका एक्लैले ४ स्वर्ण पदक नेपाललाई दिलाएकी छन् । सागको ३५ वर्ष लामो इतिहासमा यो कुनै पनि नेपाली खेलाडीको सर्वोत्कृष्ट प्रदर्शन हो । नौवटा इभेन्टमा प्रतिस्पर्धा गरेकी गौरिकाले ४ स्वर्ण दुई रजत र ३ कांस्य पदक प्राप्त गरिन् । कुल मिलाएर दुईवटा सागमा उनको पदक संख्या ४ स्वर्ण, ३ रजत र ६ कास्यसहित १३ वटा पुगेको छ । यति धेरै पदक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीको नाममा छैन ।
यद्यपि तेक्वान्दोका लिजेन्ड दीपक विष्टले लगातार ४ वटा सागमा ४ स्वर्ण पदक जितेका छन् ।
को हुन् गौरिका ?
गौरिका काकतालीले यो स्थानमा आएकी होइनन् । उनको प्रतिभा, खेलप्रतिको लगाव र समर्पणको एकमुष्ट नतिजा हो यो । खेलकुदको महत्व बुझेको र आर्थिक रुपमा सवल परिवारमा जन्मिनु उनको भाग्यको कुरा भयो ।
गौरिकाकी आमा गरिमा राणालाई धेरै नेपालीले चिन्छन्, तर बेग्लै कारणले । उनी २०५० सालको एसएलसी बोर्ड टपर हुन् । गरिमाले ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी दिएर बोर्ड फर्स्ट भएकी थिइन् । तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाहको कुरा चलेको भनेर उनको नाम चर्चामा आएको थियो ।
एसएलसी उत्कृष्ट नतिजा ल्याउने मेधावी विद्यार्थी साइन्स नै रोज्ने प्रवृत्ति अहिले पनि छ । तर, बोर्ड फर्स्ट भएर पनि गरिमाले कानून विषय रोज्दा धेरै मानिसहरु आश्चर्यमा परेका थिए । र, उनै गरिमाले एक मात्र छोरी गौरिकालाई खेल क्षेत्रमा लगाएर प्रेरणादायी आमाको उदाहरण बनेकी छन् । अन्यथा धेरै आमाबाबु आफ्ना सन्तानलाई खेल क्षेत्रमा लगाउन अहिले पनि हिच्किचाउँछन् ।
बझाङमा पुर्ख्यौली घर भएका डा. पारस सिंहसँग विवाह गरेकी गरिमाले सन् २०५८ सालमा गौरिकालाई ललितपुरको पाटन अस्पतालमा जन्म दिएकी हुन् । गौरिका २ वर्षकी हुँदा उनलाई लिएर बाबुआमा लण्डन गए र त्यहीँ स्थायी बसोबास गरिरहेका छन् । लण्डनको रोयल फ्री हस्पिटलमा युरोलोजिस्टका रुपमा डा. पारस कार्यरत छन् । गरिमाले भने आफ्ना दुई सन्तानको हेरचाहमै आफूलाई समर्पण गरिन् । 
सानो छँदा बाबुआमाले ‘लाइफ स्किल’ सिक्नुपर्छ भनेर गौरिकालाई पौडीको प्रशिक्षणमा राखिदिएका थिए । ९ वर्षमा स्थानीय प्रतियोगितामा भाग लिएपछि गौरिकामा पौडीप्रति लगाव बढ्न थाल्यो । ११ वर्षको उमेरमा छुट्टी मनाउनका लागि गौरिका बाबुआमासँगै नेपाल आइन् र त्यही आगमन उनको खेल करिअरको टर्निङ प्वाइन्ट बन्यो ।
‘हामीले उनलाई खेलाडी बनाउन भनेर पौडीमा हालिदिएका थिएनौं,’ गौरिकाका पिता पारस भन्छन्, ‘तर उनमा विशेष क्षमता र लगाव देखिएपछि हामीले यही क्षेत्रमा अघि बढ्न सपोर्ट गरेका हौं ।’
ग्यालेक्सी कपदेखि रियो ओलम्पिकसम्म
सन् २०१४ मा गौरिका नेपाल आउँदा काठमाडौंमा ग्यालेक्सी कप पौडी प्रतियोगिता आयोजना भइरहेको थियो । गरिमा र पारसले छोरीको क्षमता जाँच्नकै लागि उक्त प्रतियोगितामा सहभागी गराए । सातदोबाटो पौडीपोखरीमा पहिलो प्रवेशमै गौरिकाले २०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको सम्झिन्छन् पारस ।
‘त्यतिबेला नै हामीले उनी धेरै माथिसम्म जान सक्छिन् भन्ने आँकलन गरेका हौं,’ उनले भने ।
यो कीर्तिमानको क्षण सम्झिँदै गौरिकाले  भनेकी छन्, ‘पुलबाट बाहिर निस्किनै लाग्दा कालो चस्मा र टाउकोमा ह्याट लगाएको एकजना मान्छेले भन्नुभयो, ‘बहिनी तिम्रो नेसनल रेकर्ड बन्यो । मलाई त विश्वासै गर्न गाह्रो भयो ।’
ग्यालेक्सी कपमा उनले ४ विधामा राष्ट्रिय कीर्तिमानसहित ७ स्वर्ण जितिन् । यहीँबाटै पौडीमा द्रुत गतिले उनको यात्रा अघि बढ्यो । त्यसको दुई वर्षभित्रै ओलम्पिकमा भाग लिन पुगिसकेकी थिइन्, जतिबेला उनको उमेर १३ वर्ष मात्र भएको थियो ।
सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा आयोजित २८ औं ओलम्पिकमा भाग लिने विश्वभरका ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी थिइन् गौरिका ।
अन्तर्राष्ट्रिय मिडियाले समेत उनको चर्चा गरेका थिए ।
रियो ओलम्पिकमा १०० मिटर ब्याकस्ट्रोकको हिट चरणको आफ्नो समूहमा पहिलो भए पनि फाइनलमा स्थान बनाउन सकिनन् उनले । उक्त प्रतियोगितामा बेलायतबाट प्रशिक्षक लैजान नपाएको र प्रतिस्पर्धाअगाडि कस्ट्यूम समेत च्यातिएकाले सोचेजस्तो प्रदर्शन गर्न नसकेको गौरिका बताउँछिन् ।
नेपालबाट छनोट भएर रियो ओलम्पिकमा जानुअघि गौरिकाले २०१५ को जुलाईदेखि अगष्टसम्म रुसको कजानमा भएको १६ औं फिना विश्व च्याम्पियनसीपमा भाग लिएकी थिइन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
गत वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ वटा स्वर्णपदक जित्दै सनसनी मच्चाइन् । त्यहाँ उनले थुप्रै राष्ट्रिय कीर्तिमानहरु भंग गरेकी थिइन् । यहीँबाट गौरिकाले सागमा स्वर्ण जित्ने प्रक्षेपण गरिएको थियो ।
पौडी संघका अध्यक्ष बज्राचार्य आगामी ओलम्पिक र एसियन गेम्समा गौरिकाबाट उल्लेखनीय प्रदर्शनको आशा राखिएको बताउँछन् । ‘अर्को वर्ष हुने ओलम्पिकमा उनले पदक नै जित्छिन् त भन्न सक्दैनौं, तर दोस्रो राउण्डमा पुगिन् भने पनि ठूलो सफलता हुन्छ,’ उनले भने, ‘एसियाडमा चाहिँ पदकको आश छ ।’
अर्को ओलम्पिक सन् २०२० मा जापानमा हुँदैछ भने एसियाड सन् २०२२ मा चीनमा । अघिल्लो ओलम्पिकमा प्रशिक्षकको अभाव महसुस गरेकी गौरिकाले अर्को पटक पनि प्रशिक्षक लैजान पाउने टुंगो भने छैन । यसको एउटा कारण उनका बेलायती प्रशिक्षकको व्यस्तता र महंगा शुल्कसमेत मानिएको छ ।
स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा । ककसले जिते स्वर्ण हेर्नुस भिडियाे ः