भारतसँग हार पछि प्रशिक्षक खड्काद्वारा राजीनामा : दुई खेलाडीले लिए सन्यास


काठमाडौं, मंसिर २३
नेपालको राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।  दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पाेखरामा भएको फाइनल खेलमा नेपाल भारतसँग हारेपछि प्रमुख प्रशिक्षक खड्काले पद छाड्ने घोषणा गरेका हुन ।
साेमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा  भारलते नेपाललाई २–० ले हराएर  नेपालकाे स्वर्ण जित्ने याेजना तुहाएकाे हाे  । आज भारतलाई हराएर नेपालसामु स्वर्णको इतिहास रच्ने अवसर थियो । तर, नेपाली टोलीले आफ्नै भूमिमा भएको खेल हारेपछि निराश बन्यो ।
खेलपछि आयोजित पत्रकार सम्मेनमा सहभागी हुँदै प्रशिक्षक खड्काले हारको जिम्मेवारी लिँदै पद छाड्ने घोषणा गरेका हुन् । सोक्रममा उनले आफू प्रशिक्षकको जिम्मेवारीबाट हटे पनि नेपाली फुटबलको विकासमा सधैं साथ रहने पनि बताएका छन  ।
कप्तान थापासहित दुई खेलाडीको सन्यास
नेपालको महिला फुटबल टोलीकी कप्तान निरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छन् । त्यसैगरी, मनमाया लिम्बूले पनि सन्यास घोषणा गरेकी छन् ।
आज साग महिला फुटबलमा भएको भारतविरुद्धको फाइनल खेलमा पराजित भएसँगै कप्तान थापा र डिफेन्डर लिम्बूले एकैपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।