बदमासी गर्ने कर्मचारीलाई सरुवाकाे सट्टा कारबाही गर्नुपर्ने सांसदहरुकाे माग


२०७६ पुस ८ काठमाण्डाै - सांसदहरुले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाही नगरी सरुवा गर्ने प्रचलन हटाइनुपर्ने बताएका हुन् । सांसद रेखा शर्माले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयाे।

सांसद पम्फा भुसालले विधेयकमा सरकारले स्पष्टीकरण लिन सक्ने, बढुवा रोक्ने र निलम्बनसम्म गर्नसक्ने व्यवस्था राख्नुपर्ने बताउनुभयो । सांसदहरुले परराष्ट्र सेवामा रहेका कर्मचारीहरु राजदूत बनेर जाँदा ठाउँ खाली हुने तर अर्को कर्मचारी दरबन्दी गर्न नमिल्ने समस्या रहेकाले विधेयकमा त्यस सम्बन्धी उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । सांसद जनार्दन शर्माले परराष्ट्र सेवाका सहसचिवहरु राजदूत बनेर जाँदा मन्त्रालयमा दरबन्दी सिर्जना हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै सांसदहरुले तल्लो तहमा रहेका कर्मचारीहरुलाई करारमा लिने व्यवस्था हटाइनुपर्ने बताएका छन् । उनीहरुले ठुलो पदमा रहनेले राज्यको सबै सेवा सुविधा पाउने तर तल्लो तहमा काम गर्ने कर्मचारीले कुनै पनि सेवा सुविधा नपाउने खालको विभेदकारी व्यवस्था गर्न नहुने बताएका हुन् ।

सांसदहरुले लोकसेवामार्फत नै कर्मचारी लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले तल्लो तह मुख्य काम नहुने र पुरै समय कार्यालयमा बस्नुपर्ने आवश्यकता नभएकाले करारमा कर्मचारी राख्ने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले मुख्य काम (कोर फङ्सन) र अन्य काम छुट्याउन सकिने बताउनुभयो । समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९ अन्तर्गतका १० वटा उपदफाहरुमाथि छलफल भएको थियो ।