चिसोले पर्सा र बारामा तीन जनाको मृत्यु


२०७६ पुस १३- अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईको बारा र पर्सा जिल्लामा ३ को मृत्यु भएको छ । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको वडा अध्यक्ष अस्लम देवानले जानकारी दिए । जाडाे माैसम सुरू भएसंगै बढेको चिसोले कठ्यांग्रिएर पर्साको पर्सागढी नगरपालिका-४ वर्वाटांडीका ७५ वर्षीय बिक्रम सहनी र परिचय खुल्न नसकेका एक जना पुरुषको ज्यान गएके हो ।

सहनीको उपचारको क्रममा वीरगञ्जस्थित नरायणी उपक्षेत्रीय अस्पतालमा आइतबार मृत्यु भएको हो भने परिचय खुल्न नसकेका पुरुषको शव वीरगञ्जको शंकरचार्य गेट बाट दक्षिण तर्फ फेला परेको प्रहरीले जनाएकाे छ । चिसोमा रातभर खुल्ला आकाशमुनि बसेकाले परिचय नखुलेका व्यक्तिको ज्यान गएको प्रहरीको आशंका रहेकाे छ । पोष्टमार्टमपछि उनको मृत्युको कारण खुल्ने डीएसपी वीरेन्द्र शाहीले बताएका छन ।

साे स्थानमा दुई सातादेखि घाम नलागेका कारण मध्य तराईको रौतहट पर्सा, बारा, लगायतका जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको हाे । चिसोबाट विशेष गरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित भएका छन् । वीरगञ्जको रानीघाटस्थित अटोमेटिक वेदर स्टेशनका अब्जर्भर कामेश्वर राउत कम्कडका अनुसार तराइ भए पनी यस क्षेत्रको तापक्रम करिब ६ डिग्रि भन्दा न्युन रहेकाे छ । तराईका बिभिन्न ठाउहरूमा न्यानो कपडाको अभावमा गरिब विपन्न समुदायमा बढी चिसोको असर देखिने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने उपायका बारेमा जानकारी नहुँदा कतिपयको ज्यान जाने गरेको छ ।

कतिपय जनता चिसोबाट बच्न मानिसहरु सार्वजनिक स्थलमा आगो तापेर बसिरहेका छन् । चिसोले तराई-मधेसका मुसहर, डोम, चमार लगायतका दलित विपन्न समुदाय बढी प्रभावित हुने गरेको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका अगुवाहरु बताउँछन् । साथै चिसोकै कारण विद्यार्थीको पठन पाठन समेत प्रभावित बनेको छ । चिसाेकाे कारण बारा-पर्सामा हाल अधिकांश विद्यालय बन्द भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका, बाराको कलैया, विन्दबासिनी गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिकामा सामुदायिक तथा निजी विद्यालयहरू पनि बन्द रहेका छन ।