अष्ट्रेलियामा डढेलोबाट केही शहरहरु ध्वस्त


काठमाडौं,पुष ०७ - आकस्मिक रुपमा ठूलो क्षेत्रमा फैलिएको बन डडेलोले अस्ट्रेलियाका केही शहरहरु ध्वस्त भएका छन् ।

डडेलोबाट बढी प्रभावित न्यु साउथ वेल्स राज्यकी एक नेतृले डडेलोले अस्ट्रेलियन समुदायलाई नै छिन्नभिन्न पारेको बताएकी छन् । चार सय मानिसको बसोबास रहेको दक्षिण पश्चिमी सिड्नीको बालमोरल शहर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । त्यहाँ डडेलोको अवशेष बाहेक केही देख्न पाइदैन । सुख्खा र गर्मी मौसम भएकाले थुप्रै राज्यहरुमा लागेको डडेलो नियन्त्रण गर्न अग्नी नियन्त्रकहरुलाई निकै कठिनाइ भइरहेको छ । गत सेप्टेम्बर महिना देखि नै अस्ट्रेलियाका विभिन्न राज्यमा डडेलोको प्रकोप छ । हालसम्म डडेलोका कारण ९ जनाको मृत्यु भइसकेको छ । हजारौं घरहरु क्षतिग्रस्त भएका छन् भने लाखौं हेक्टर भूमि जलेर नस्ट भएको छ ।