३ वटा जलविद्युत आयोजना निर्माणका लागि लगानी स्वीकृत


२०७६ पुष १४ - प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको बैठकले कारियन लगानी निर्माण हुन लागेको माथिल्लो त्रिशुली-१ लाई ६५ अर्ब, मस्र्याङदीवेसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली-३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ गरी लगानी बोर्डले ३ ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण सुरु हुँदै छ । निजी लगानीमा मस्र्याङदीवेसी र नेपाल विद्युत प्राधिकरणमार्फत माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण भइरहेको छ । बैठकले निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजनाको छयाङकुटीदेखि दिर्दीङसम्मको पहुंचमार्गको मुआब्जा वितरण गर्नका लागि गठित छानविन समितिलाई थप प्राविधिक सहयोग हुने गरी पुर्नगठन गर्नुका साथै २ महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले ठुला परियोजना निर्वाध रुपमा विना अवरोध कार्यान्वयन हुनुपर्ने बताउदै सहजीकरणमा जोड दिनु भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी गरानु भयो ।