नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्ने काम जारी


पुष ०८ - नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्ने काम भइरहेको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटीङ, बोल्टिङ र बायो ईन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो । यस सडक खण्डमा हाल माथि अड्किएका ढुंगा झार्ने काम भइरहेको छ ।

अहिलेसम्म तीन प्रतिशत मात्र काम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर २७ गतेबाट दुई हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो । आगामी पुस ११ गते सो अवधि सकिँदैछ । तर, सडक माथिका ढुंगा झार्न अझै दुई हप्ता समय लाग्ने बताइएको छ ।

जसले गर्दा थप दुई हप्ता सो सडकखण्डमा दिउँसोको सवारी आवागमनमा अवरोध पुग्नेछ । अन्य काम भने सवारी साधन सुचारु गरेर पनि गर्न सकिने बताइएको छ । हाल यस सडक खण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम भईरहेको छ ।