प्रहरीको सर्च अपरेशन काठमाडौंमा ९९ चिनियाँ नागरिक पक्राउ


काठमाडौं २०७६ मंसिर ७ - सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । त्यसक्रममा एकैदिन ९९ जना चिनियाँ नागरिक पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो ।

त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ । उनीहरु ब्यारेक सिस्टममा बसेर काम गरेको भेटिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको छ ।उनका अनुसार प्रहरीले ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको छ । त्यसको वैज्ञानिक परीक्षण हुन बाँकी छ । पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरी मातहतको विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक रामदत्त जोशीले बताए ।