पौडल समूहको बहिस्कारका बीच नेपाली कांग्रेसकाे महाधिवेशन मिति तय


२०७६ पुस ११ काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तय गरेकाे छ । साे बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने निर्णय गरेकाे हाे ।

बैठकले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएको छ । त्यसअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ । यो वैशाखमा सकिनेछ ।

कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु सुरु हुनेछ । सबैभन्दा तल्लो कमिटी वडा तहको अधिवेशन ९ मंसिर २०७७ मा हुनेछ । वडा अधिवेशन- २०७७ मंसिर ९ गते अनि गाउँ/नगरपालिका अधिवेशन- २०७७ मंसिर ११ गते त्यसै गरी प्रदेशसभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते , प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते, प्रदेश अधिवेशन- २०७७ पौष १५ गते र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं मा हुने भएकाे हाे । पार्टी सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरु मात्र उपस्थिति बैठकले केन्द्रीय विभाग बढाएर ४७ पुर्‍याउने प्रस्ताव पास गरेको छ ।

विधानमा यस्तो विभागहरु २८ वटा मात्र रहने व्यवस्था छ । तर चार वर्ष लामो कार्यकालमा नीति तथा प्रतिष्ठानबाहेक कुनै पनि विभाग गठन भएन । बैठकले भ्रातृ संगठन तरुण दलको म्याद पनि ६ महिना थप गर्ने निर्णय भएको छ । २६ मंसिरबाट सुरु भएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्ष सहभागी भएनन् । त्यसबेला १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग गर्दै बैठक बहिस्कार गरेका थिए । त्यसपछि भएका वार्ताहरुमा भ्रातृ संगठन र विभागहरुबारे पनि छलफल भयो ।

वार्ता समिति स्तरमा भएका छलफल सहमतिमा नपुगेको भन्दै पौडेल समूह बैठकमा सहभागी भएन । शुक्रबार पनि पौडेल समूहको बैठकले प्याकेजमा सहमति भए मात्र बैठकमा सहभागी हुने निर्णय गरेको थियो तर चाक्सीबारीमा पौडेल समूहको बैठकले निर्णय गरेलगत्तै सानेपामा केन्द्रीय समितिको बैठक बस्यो र निर्णय लिएको छ ।

‘वरिष्ठ नेताले राख्नुभएको प्रस्तावलाई समेत समाहित गरेर गरेको निर्णय बमोजिम पार्टी एक ढिक्का भएर अगाडि बढ्ने विश्वास छ । पौडेल समूहका नेताहरुले भने शुक्रबारको निर्णयसँगै पार्टीमा द्वन्द्व बढ्ने विश्लेषण गरेका छन् । महाधिवेशनको कार्यतालिका र तरुण दलबारे भएको निर्णयमा एकलौटी गरेको आरोप लगाएको संस्थापन इतर समूहले विभाग थप्ने निर्णय विधान विपरीत भएको बताएको छ । पौडेल समूहका एक नेता भन्छन्, ‘अब कसरी अगाडि बढ्ने भन्ने भोलि साथीहरुसँग बसेपछि थप भन्न सकिएला ।