आजबाट पेट्रोलियम पदार्थको मुल्य बढ्यो


२०७६ पुष १७ - नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य फेरी समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाले वृद्धि गरी गरेको हो ।

निगमका अनुसार हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य अनुसारको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् रहेको छ । यस अगाडी भारतिय आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।

मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा १११ रुपैया प्रतिलिटर, पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको हाे । नया मुल्य समायाेजन संगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा १०० रुपैया प्रतिलिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएकाे छ ।