स्वस्थानी व्रत शुरु । के हाे स्वस्थानी ? जान्नुस


२०७६ पुष २५ - स्वस्थानी व्रत शुरु शुरू भएकाे छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतहरू मध्य एक पर्व हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको हाे । व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास रहेकाे छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने स्वस्थानी व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास अाम समुदायमा रहेकाे छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हिजो नै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच भएको संवाद सुन्ने र सुनाउने गरिन्छ ।

एक महिना सम्म यही विधि अनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइने प्रचलन समेत रहेकाे छ । स्वस्थानीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेकाे छ । स्वस्थानीको ब्रतको एक महिनाभार काठमाण्डौको साँखुमा रहेको शालीनदीमा ठुलाे मेला समेत लाग्ने गर्दछ ।