चीनमा डर-लाग्दो कोरोना भाइरस फैलदै


२०७६ माघ ७ काठमाडौं - चीनमा भेटिएको नयाँ भाइरसको संक्रमण नयाँ नयाँ स्थानमा पनि फैलदै जान थालेपछि भाइरसको त्रास बढ्दै गएको छ । सुरुमा चीनको उहानमा देखिएकाे कोरोना भाइरसको संक्रमण अन्य शहरहरुमा समेत देखिन थाले पछी त्यसको असरलाई लिएर सर्वत्र त्रास बढ्न गएकाे हो । गत महिना पहिलो पटक देखिएको कोरोना नाम दिइएको यो भाइरस सुरुवाती दिनको तुलनामा यो साता तीन गुणाले बृद्धी भएको पाइएको छ ।

भाइरसका कारण दुई दिनमा १३९ वटा नयाँ सङ्क्रमणका घटना देखिएका छन् । राजधानी बेइजिङ, सङ्घाइ र सेन्जेनमा पनि साे भाइरसको सङ्क्रमण भेटिएकाे छ ।

अहिलेसम्म पुष्टि भएका सङ्क्रमणको सङ्ख्या २०० नाघेको बताइएको छ । विविसीले जापान, थाइल्याण्ड र दक्षिण कोरियामा यही भाइरसको संक्रमण फेला परेको पुष्टी भएको उल्लेख गरेको हाे । श्वास प्रश्वासका माध्यमबाट सर्ने यो भाइरसको संक्रमणबाट निमोनिया हुने र विरामीको मृत्यु हुने गरेको पाइएको छ । सन् २००० को सुरुवातमा ७७४ जनाको ज्यान लिनेगरी विश्वभर फैलिएको सार्स नामको भाइरस पछि अहिले भेटिएको कोरोना भाइरसलाई शक्ति-शाली र डर-लाग्दो मानिएको छ । चीनले हाल कोरोना भाइरस कहाँबाट र करसी फैलियो भन्नेबारेमा अनुसन्धान गरीरहेकाे छ ।