नारायणगढ-मुग्लिन सडकखण्डमा चट्टान खोपेर पहिरो रोक्ने प्रयास


२०७६ पुष २१:चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा काटिएको भित्ता चट्टाने भिर खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् । पहिरो रोक्ने प्रयासको काममा खटाइएका मजदूरहरु दुई सातादेखि काम गरिरहेका छन् ।

पहिरो खस्ने जोखिम भएको ठाडे भिरमा चट्टान खोप्नु निकै गाह्रो काम भएको प्राविधिकहरु बताउछन् । मजदूरहरुले भित्तामा खोपेर राखिएको फलामे डण्डीको भर्‍याङ र रुखमा बाँधिएको डोरीको सहायतामा अडिएर काम गरिरहेका छन् । पहिरो रोक्नका लागि बायोइन्जिनीयरिङको काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनालले बताउनुभयो ।

पहिरो रोक्ने कामका लागि भोलीसम्म बिहान ११ बजेबाट ३ बजेसम्म बन्द बाटो बन्द गरिने आयोजनाले जनाएको छ । नारायणगढ मुगलिन सडकको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्ने काम भैरहेको छ । पहिरोको सबैभन्दा ठूलो जोखिम चार किलो र तोपे खोलामा रहेको छ । विश्व बैंकको बजेटबाट बचेको पैसाले चार वटा पुल र रक नेटिङको काम गरिएको आयोजनाले जनाएको छ ।