मगर संघ (कास्की) ले ब्याडमिन्टन प्रतियोगिता गर्दै


२०७६पुष २५ पाेखरा - नेपाल मगर संघ, कास्की (पाेखरा) ले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । नेपाल मगर संघ, कास्कीको कभर्डहलमा हुने प्रतियोगितामा ३५ टिमको सहभागी रहने छ । पुस २६ गतेदेखि सुरु हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं नेपाल मगर संघ, कास्कीका युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिनेश रोकामगरले जानकारी दिएका छन ।

प्रतियोगिता युवा, प्रौढ तथा महिला गरी तीन किसिमले उमेर समूह तथा लैड्डिक रुपमा वर्गीकरण गरिएको प्रतियोगिता सह–संयोजक एवं संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगरले बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात गरी सञ्चालन गर्न लागिएको प्रतियोगिताका युवा तथा प्रौढ तर्फ प्रथम र द्वितीय पुरस्कार क्रमशः ८ हजार र ५ हजार त्यस्तै, महिलातर्फ प्रथम र द्वितीय पुरस्कार ५ हजार र ३ हजार रुपैयाँ पुरस्कारी राशी रहेकाे छ । प्रतियोगिताको उद्घाटन शनिबार गण्डकी प्रदेशसभाकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ ‘कुसुम’ले गर्नु हुने नेपाल मगर संघ, कास्कीका सचिव रामबहादुर थापामगरले बताका छन ।