कोरोना सङ्क्रमण नियन्त्रणको लागी चीन सरकारले थप यस्ताे अादेश दियाे


२०७६ माघ २१ काठमाडौं - चीनको उच्च नेतृत्व तहले अाफ्ना देशमा तिब्र रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको प्रयासमा केहि कमजोरी भएको भन्दै ब्यापक प्रभावकारी उपाय अवलम्वन गर्न सम्वन्धित निकायहरूलाई आदेश दिएको छ ।

राष्ट्रपति सि चिन फिङले अध्यक्षता गर्नुभएको बैठकले भाइरसको संक्रमणशुरु भएको मानिएका वन्यजन्तुको कारोवार हुने सबै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय पनि गरेको छ । भाइरस संक्रमणको विषयलाई लिएर बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्युरो स्थायी समितिको बैठकले राष्ट्रिय आपतकालिन व्यवस्थापन प्रणालीलाई थप मजबुद बनाउनुपर्ने निष्कर्ष निकालेको छ । संक्रमण चिनियाँ सरकारको दक्षताको ठूलो परीक्षा भएको निष्कर्ष निकाल्दै बैठकले यो परिस्थितिबाट पाठ सिक्दै जतिसक्दो छिटो नियन्त्रणको उपायमा जुट्न भनेको छ ।

विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले कोरोना भाइरसको प्राथमिक स्रोत चमेरा हुन सक्ने संकेत गरेका छन् । चीनमा अत्यधिक खपत हुने जंगली जनावर र तीनको मासुका परिकारहरुको उपभोगबाटै जनावरबाट मानिसमा कोरोना भाइरस सरेको अनुसन्धान कर्ताहरुले बताएका छन् । हालसम्म चीनमा १७ हजारलाई सङ्क्रमण भएको पुष्टि भइसकेको छ जसमध्ये ३६१ जनाको ज्यान गएकाे छ । चीन बाहिर २० मुलुकमा १५० जनामा भाइरसको सङ्क्रमण फेला परेको छ । सङ्क्रमणबाट फिलिपिन्समा एक जनाको ज्यान गुमाएका छन । चीनले सङ्क्रमणको केन्द्रविन्दू उहान शहरमा दुई वटा नयाँ विशेष अस्पताल नै निर्माण गरी थप स्वास्थ्यकर्मी समेत परिचालन गरेको छ । हालसम्मकै ठूलो जोखिम बनेको भाइरसको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि चिनीयाँ शेयर बजारमा पनि त्यसको असर देखिन शुरु भएको छ । १ हप्ता लामो नयाँ बर्षको विदा पछि हिजो खुलेको संघाई शेयर बजारमा चार बर्ष यताकै धेरै ८% ले गिरावट आएको थियाे ।